काठमाण्डौ । कोभिड १९ को संक्रमण बढेसँगै बैशाख १६ गतेदेखि काठमाण्डौ उपत्यकामा लागू भएको निषेधाज्ञा केही क्षेत्र खोल्दै ७ दिन थप गरिएको छ । 

काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले लुजडाउनको मोडलमा निषेधाज्ञा ७ दिन थप गर्ने निर्णय गरेको हो । 

यो निर्णयलगत्तै काठमाण्डौ जिल्ला प्रशासनले निषेधाज्ञाको नयाँ आदेश समेत जारी गरेको छ । प्रशासन कार्यालयले असार १ गतेदेखि खोल्न पाइने क्षेत्रहरु समेत तोकेको छ । 

प्रशासन कार्यालयले कृषि क्षेत्रका गतिविधिहरुमा लुजडाउनको नीति लिएको छ । 

यस्तै, वैदेशिक अध्ययन वा इडीभीका कारण विदेशमा जानुपर्ने व्यक्तिहरुका लागि कुटनीति नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियाका कार्यहरु संचालन गर्न दिइने भएको छ । कुटनीति नियोगले आवश्यक परीक्षा र अन्तर्वार्ता समेत लिन पाउने भएका छन् । 

ट्रान्सपोर्ट कम्पनीहरुले औषधि तथा स्वास्थ्य उपकरण, कृषि मल, बिउ तथा खाद्यान्न सामाग्री ढुवानी गर्दाको समयमा मात्र स्वास्थ्य मापदण्ड पालना गरी कार्य संचालन गर्न पाउने भएका छन् । 

स्वास्थ्य मापदण्ड पालना गरी कृषिजन्य कार्य गर्न समेत पाइने भएको छ । 

यस्तै, प्रशासन कार्यालयले तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । यसअघि बिहान ९ बजेसम्म मात्र खोल्न पाइन्थ्यो । 

यस्तै, स्थानीय ढुवानीको हकमा राति ९ बजेदेखि बिहान ११ बजेसम्म छुट दिइने निर्णय गरिएको प्रशासनको नयाँ आदेशमा उल्लेख छ । 

पुस्तक पसल र प्रिन्टिङ प्रेस समेत बिहान ११ बजेसम्म संचालन गर्न पाइने नयाँ व्यवस्था भएको छ । 

विकास निर्माणजन्य सामाग्रीका पसल दिउँसो ४ बजेपछि खोल्न छुट दिइएको छ । 

यस्तै, अत्यावश्यक वस्तुहरुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाण्डौ उपत्यकाभित्र मात्र साँझ ७ बजेसम्म खोल्न दिने निर्णय समेत भएको छ । 

यस्तै, सवारी साधन मर्मतका लागि वर्कसपहरु पनि खोल्न दिने निर्णय भएको छ । तर, ती वर्कसपहरु राति ९ बजेसम्म मात्र संचालन गर्न पाइनेछ । 

यस्तै, तीन जिल्लाका सीडीओहरु यसअघि बैंक तथा बीमा कम्पनीका सबै शाखा संचालनमा पनि लचक बन्ने सहमत भएका थिए । तर, निर्णय आउँदा भने केही फरक आएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले बैंक तथा बीमा कम्पनीका शाखाहरु खोल्न दिने विषयमा आफूहरु पूर्व निर्णयबाट पछि नहटेको र यसको मापदण्ड राष्ट्रबैंकले बनाई सर्कुलर जारी गर्ने भएकोले आदेशमा यो नखुलाइएको बताए । ‘शाखाहरु न्यूनतम संख्यामा कर्मचारी राखेर खोल्न दिने नै भनिएको हो ।’ भट्टराईले बिजशालासँग भने–‘यो विषयमा थप राष्ट्रबैंकले बोल्छ ।’

सीमित संख्यामा शाखा तथा कर्मचारीको व्यवस्थापन गरी वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले कारोबार गर्ने भन्ने नयाँ आदेशमा उल्लेख छ । यसअघि बैंक तथा वित्तीय संस्थाका अत्यन्त थोरै शाखा मात्र खोल्न पाइने आदेश थियो । 

यस्तै, बीमा समिति र धितोपत्र बोर्डले आलोपालो गरी २० प्रतिशत कर्मचारीलाई मात्र कार्यालयमा राखेर काम गर्न पाउने गरी छुट दिइएको छ । 

यस्तै, सहकारी संस्था र रेमिट कम्पनीहरुलाई आइतबार र बिहीबार मात्र खोल्न अनुमति दिइएको छ ।