काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले धितोपत्र बोर्डको विज्ञप्तिबाट नअत्तालिन आग्रह गर्दै भोलि सेयर बिक्रीमा हतारो नगर्न लगानीकर्तालाई अपील गरेका छन् । 

मंगलबार राति बिजशालासँग कुरा गर्दै उनले गहिरो अध्ययनबिना आएको विज्ञप्तिकै आधारमा सेयर बिक्री गर्नतर्फ लाग्दा पछुताउनुपर्ने अवस्था बन्नसक्ने समेत दाबी गरेका छन् ।

'कसैले बोर्डको विज्ञप्तिकै कारण त्रासमा परेर सेयर बिक्री गर्ने हतारो गर्नुहुन्न । म सबैलाई अपील गर्छु, आफ्नो लगानी रणनीति कसैको विज्ञप्ति वा भनाईबाट प्रभावित हुन नदिनुहोस् ।' उनले थपे-'बजार सकारात्मक लयमै छ, अत्तालिएर सेयर नेबच्नुहोस् ।' 

उनले बुलिस बजारमा राम्रा र वित्तीय रुपमा बलिया कम्पनीहरुको सेयरमा लगानी गर्दा राम्रो प्रतिफल पाइने उल्लेख गर्दै त्यस्ता कम्पनीको मूल्य कयौं गुणासम्म पनि बढ्नसक्ने तर्क प्रस्तुत गरे । 'लगानीकर्ताले लगानीको निर्णय गर्दा चाहिँ चनाखो बन्नुपर्छ ।' उनले भने-'बोर्डले आज अतिरञ्जनाको रुपमा जुन कुरा बाहिर ल्याएको छ, तत् कम्पनीका त्योभन्दा बढी वित्तीय विवरण नेप्सेकै वेबसाइटमा उपलब्ध छ । लगानीकर्ताहरुलाई म हाम्रो वेबसाइटमा गएर वित्तीय विवरण अध्ययन गर्न, उनीहरुको लाभांश इतिहास, विजिनेश ग्रोथको अवस्था र भविष्यमा गर्नसक्ने प्रगति लगायतलाई हेरेर खरीदबिक्रीको निर्णय लिन समेत आह्वान गर्छु ।' 

साउदले धितोपत्र बोर्डले ५१ वटा कम्पनीलाई जोखिमयुक्त भनेर किटान गर्नु गलत रहेको समेत बताए । 'नियामकले गर्नै नहुने काम भएको छ, यो सच्याउनुपर्छ ।' उनले भने-'बोर्ड अध्यक्षलाई गलत सल्लाह दिनेले गलत ढंगले फाइदा उठाई यस्तो गरिरहेका छन् कि जस्तो लाग्छ ।' 

उनले बुलिस टेण्डमा रहेको बजारमा सानातिना करेक्सन समेत आउनुपर्ने र करेक्सन आउँदै अगाडि बढेको बजार नै दिगो र बलियो हुनेमा जोड दिए । उनले नेप्से परिसूचकको लक्ष्य ठूलो चुचुरो चुम्ने रहेको उल्लेख गर्दै अहिले नै धेरै बढ्यो भनेर रोइलो गर्नुको अर्थ नहुने प्रष्ट पारे । 

अनलाइन सेयर कारोबार प्रणालीको सफल कार्यान्वयन, सहज ढंगले घरमै बसेर सेयर कारोबार गर्न पाइने भएका कारण बजारमा बढेको लगानीकर्ताको उल्लेख्य उपस्थिति आदिका कारण बजार आजको अवस्थामा आएको र नेप्सेको अहिलेको विन्दू स्वभाविक रहेको तर्क गरे । 

बजार र सूचीकृत कम्पनीको मूल्य सधैं न्यून विन्दूमै हुनुपर्छ भन्ने अतिवादी सोंच त्याग्न उनले सरोकारवाला सबैमा आह्वान गरे ।