काठमाण्डौ । निकै आक्रामक स्वभावका पर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो एक अभिव्यक्तिले कोकाकोला कम्पनीले खर्बौंको नोक्सानी व्यहोर्नुपरेको छ।

युरोप कम २०२० अन्तर्गत हंगेरीविरुद्धको खेलअघिको पत्रकार सम्मेलनमा रोनाल्डोले सार्वजनिक रुपमा व्यक्त गरेका एक धारणाले कोकाकोला कम्पनीले एकै झट्कामा ४ बिलियन डलर अर्थात ४ खर्ब ६८ अर्ब रुपैयाँको नोक्सानी व्यहोर्नुपरेको हो। 

पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्न बसेका रोनाल्डोलाई कोल्ड ड्रिंग्सका रुपमा २ बोतल कोकाकोला दिइएको थियो। कोकाबोलाको बोतल देख्नेबित्तिकै रोनाल्डो रिसाए। तुरुन्त आफू अगाडिको बोतल हटाउन लगाए। अनि रिसाउँदै उनले भने, ‘कोल्ड ड्रिंक्स होइन हामीले पानी पिउने आदत बसाल्नुपर्छ।’

रोनाल्डो स्वास्थ्य सन्तुलन कायम राख्न वास्तवमै कोल्ड ड्रिंक्सबाट टाढा रहन्छन्। उनी प्रायः पानी नै पिउने गर्छन्। 

रोनाल्डोको यो अभिव्यक्ति कोकाकोला कम्पनीले ठूलो मूल्य चुकाउनुपर्यो। कम्पनीको सेयरमूल्यमा भारी गिरावट आयो। 

युरोपेली सेयर बजार खुल्दा यो कम्पनीको प्रतिकित्ता सेयर ५६.१० डलर थियो। तर केही समयमै घटेर ५५.२२ डलरमा झर्यो। जसका कारण कोकाकोला कम्पनीका सेयरधनीहरुले एकैदिन ४ बिलियन डलरको नोक्सानी व्यहोर्नुपर्यो।

हिजो राति सम्पन्न खेलमा पर्चुगलले हंगेरीलाई पराजित गरेको छ। – एजेन्सी