काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले सबै उद्योगीव्यवसायीलाई खोप सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ।

चेम्बरले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘नयाँ भेरियन्टको कोभिड-१९ को दोस्रो लहरले समस्त उद्योगीव्यवसायीलाई आक्रान्त तुल्याएको छ’, चेम्बरका महानिर्देशक कैलाश कुमार बजिमयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समयमै कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध नभएकोले अग्रपंक्तिमा कार्यरत समस्त व्यावसायिक क्षेत्रको आत्मबलमा ह्रास आएको छ।’

अहिले मुलुकमा लकडाउन भई अधिकांश व्यवसायहरु वन्द अवस्थामा रहेको र अर्कोतर्फ कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध नभएकोले यसबाट उत्पन्न विषम परिस्थितिका कारण उद्योगव्यवसाय सञ्चालन गर्नसमेत चुनौतीपूर्ण अवस्था सिर्जना हुन पुगेको विज्ञप्तिमा जनाइएको छ। यस परिस्थितिमा उद्योगव्यवसाय सञ्चालनका सिलसिलामा अग्रपंक्तिमा रही कार्यरत हुनुपर्ने भएकोले समग्र निजी क्षेत्र जोखिमयुक्त वर्गमा पर्ने भएको हुंदा चेम्बरका पदाधिकारी तथा सदस्य, चेम्बरसँग आबद्ध रहेका वस्तुगत संघ, आवद्ध संघ, द्विराष्ट्रिय व्यापार संघ, प्रदेश, जिल्ला तथा नगरस्तरीय चेम्बरका पदाधिकारी तथा सदस्यहरु, चेम्बरअन्तर्गत गठित केन्द्र तथा जिल्लाअन्तर्गत गठित महिला चेम्वरका पदाधिकारी तथा सदस्यहरु तथा चेम्वरअन्तर्गतका समस्त किराना व्यवसायीउद्योगी एवम उद्योग तथा यातायात क्षेत्रमा कार्यरत मजदुरलाई दुवै चरणको खोपको व्यवस्था गर्न चेम्बरले आग्रह गरेको छ।