काठमाण्डौ । सरकारले असार २५ गतेसम्म कर तिर्न सकिने गरी म्याद थप गरेको छ। 

सर्वोच्च अदालतले मंगलबार सरकारले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो । सोही आदेशबमोजिम आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो ।

कोरोना संक्रमणको रोकथाम र नियन्त्रणको सिलसिलामा विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण तोकिएको समयमा बुझाउनुपर्ने कर विवरण र कर दाखिला गर्न करदातालाई पर्न गएको कठिनाइलाई ध्यानमा राखी म्याद थप गरिएको विभागले जनाएको छ। 

२०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्ने सूचनामा उल्लेख छ। 

त्यस्तै २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्ने सूचनामा जनाइएको छ। 

विभागले २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यसअनुसारको अन्तःशुल्क असार २५ गतेसम्म दाखिला गर्नुपर्ने जनाएको छ। २०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर दाखिला गर्ने म्यादसमेत असार २५ गतेसम्म थप गरिएको विभागले जनाएको छ ।