काठमाण्डौ। नेपाल आयल निगम लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ निरन्तर बढिरहेकोले नेपालमा पनि इन्धनको मूल्य वृद्धि जनाएको छ। 

निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले वृद्धि गरेको छ। 

मूल्यवृद्धिपछि काठमाण्डौमा पेट्रोल प्रतिलिटर १२७ रुपैयाँ, डिजेल तथा मट्टीतेल ११० रुपैयाँ र आन्तरिक हवाई इन्धन ८२ रुपैयाँ प्रतिलिटर पुगेको छ। त्यस्तै अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७३५ डलर पुगेको छ।

नेपाली बजारमा इन्धनको भाउमा उकालो लाग्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ निरन्तर बढ्न नै रहेको आयल निगमका प्रवक्ता विनीतमणि उपाध्याय बताउँछन्। ‘यद्यपि मूल्यवृद्धिपछि पनि निगमको घाटा यथावत् छ’, उनी भन्छन्, ‘वृद्धि गरिएको मूल्यमा इन्धन बिक्री गर्दा पनि आगामी १५ दिनमा निगमलाई ६४ करोड ९७ लाख रुपैयाँ नोक्सान हुने अनुमान गरिएको छ।’

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बुधबार साँझसम्म ७५.७६ डलर प्रतिब्यारेल निर्धारण भएको थियो। यो मूल्य सोही दिन कारोबार सुरु भएको मूल्यको तुलनामा करिब २ डलर प्रतिब्यारेल महँगो हो। यसरी एकैदिन २ डलरले कच्चा तेलको भाउ बढ्दा त्यसको असर नेपाली बजारमा पनि परेको हो। 

अन्तर्राष्ट्रिय बजारमा अहिले कायम भएको मूल्य (७५.७६ डलर प्रतिब्यारेल) अढाई वर्षयताकै उच्च विन्दु हो। करिब अढाई वर्षअघि चैत ०७५ मा अन्तर्राष्ट्रिय बजारमा ७५ डलर प्रतिब्यारेल आसपास मूल्य कायम भएको थियो। त्यसयता निरन्तर भाउ घटेर पुनः उचाइ लिन थालेको हो। 

आयल निगगले यसअघि मूल्यवृद्धि गरेको जेठ २२ को तुलनामा पनि हाल कायम भएको मूल्य ५ डलर प्रतिब्यारेल महँगो हो। जेठ २२ मा समेत निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २–२ रुपैयाँ बढाएको थियो।