काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कुनै पनि कम्पनीको सेयर दोस्रो बजारमा किनबेच गर्दा लगाइने मूल्य अब पैसामा पनि हाल्न पाइने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। 

दोस्रो बजारमा हाल सेयर खरिद वा बिक्री अर्डरका लागि मूल्य प्रविष्ट गर्दा १ रुपैयाँको फरकमात्र राख्न पाइने व्यवस्था रहेको थियो। धितोपत्र बोर्ड आज एक निर्देशन जारी गर्दै अब यो १ रुपैयाँको फरकलाई बाई–सेल अर्डर गर्दा घटाएर १० पैसा कायम गरेको हो। बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को दोस्रो संशोधन (धितोपत्र कारोबार सञ्चालन (दोस्रो संशोधन विनियमावली, २०७८) स्वीकृत गर्दै यो व्यवस्था कायम गर्न स्वीकृति दिएको हो। 

यो व्यवस्थालाई आवश्यक प्रबन्ध मिलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई कार्यान्वयनमा ल्याउन पनि बोर्डले निर्देशन दिएको छ। 

छिमेकी देशलगायत अन्तर्राष्ट्रिय असल अभ्यासअनुरुप हुने गरी धितोपत्र कारोबारको न्यूनतम मूल्य सीमालाई परिवर्तन गरिएको र यसबाट खरिदकर्ता र बिक्रीकर्ताले प्रतिस्पर्धी मूल्यमा धितोपत्र खरिदबिक्री गर्न सक्नुका साथै कारोबारमा समेत वृद्धि हुने देखिएको धितोपत्र बोर्डले जनाएको छ। ‘यो व्यवस्था कार्यान्वयनमा आएपछि न्यूनतम मूल्य परिवर्तन सीमा १० पैसा हुँदा लगानीकर्ताले प्रतिस्पर्धी मूल्य प्राप्त गर्न सक्ने देखिएको छ’, धितोपत्र बोर्डको निर्देशनमा भनिएको छ, ‘यसबाट दोस्रो बजार कारोबार थप लगानीकर्तामैत्री हुने बोर्डको विश्वास छ।’

यसअघि हिजो (साउन ९ गते) मात्रै बिजशालामा यस बारेमा समाचार प्रकाशित भएको थियो। यो व्यवस्था कार्यान्वयनमा आउने भएपछि लगानीकर्ताहरु उत्साहित भएका छन्।

यो पनि पढ्नुहोस् –

१० पैसाको फरकमा सेयर किनबेच गर्न पाइने व्यवस्था हुँदै