काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पुनरकर्जा सुविधासँग सम्बन्धित ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७’ मा दोस्रो संशोधन गरेको छ। केन्द्रीय बैंकले अब दोस्रो संशोधनबमोजिम नै पुनरकर्जा सुविधा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन पनि दिएको छ। 

राष्ट्र बैंक ३ किसिमको पुनरकर्जा वर्गीकरण गरेको छ। जसअन्तर्गत लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, विशेष पुनरकर्जा र साधारण पुनरकर्जा रहेका छन्।

उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको रु. १५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा मानिनेछ।

यसैगरी बैंकले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनरकर्जालाई विशेष पुनरकर्जा मानिनेछ। यसअन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढङ्गले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम/व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न तथा दश मेगावाट भन्दा साना जलबिद्युत् आयोजनाहरुमा प्रदान गरिएको पुनरकर्जाहरुलाई मानिनेछ। 

यी दुवै वर्गीकरणमा नपरेका र बैंकले समय–समयमा तोकेको सबै पुनरकर्जालाई साधारण पुनरकर्जा मानिनेछ।

पुनरकर्जा प्राप्त गर्ने इजाजतपत्रप्राप्त संस्थाले बैंकलाई तिर्नुपर्ने ब्याजदर र सम्बन्धित ग्राहक/ऋणीहरुबाट लिने ब्याजदर बैंकले समय समयमा तोकेबमोजिम हुनेछ । पुनरकर्जाका लागि हाल विद्यमान ब्याजदर देहायबमोजिम तोकिएको छ।

पुनरकर्जाको अवधि

(१) एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाको अवधि बढीमा १ वर्षको हुनेछ र यस्तो कर्जा नवीकरण हुने छैन।

(२) ग्राहक ऋणीअनुसार प्रदान गरिने पुनरकर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई र निजी क्षेत्रबाट संचालन भएका आर्थिक रुपले संकटग्रस्त जलबिद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई बढीमा १ वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि ६ महिना अवधिको हुनेछ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले तोकेको व्यवस्थानुसार बैंकले यस्तो पुनरकर्जा नवीकरण गर्न सक्नेछ। 

पुनरकर्जा सुविधाको सीमा

(१) बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा रु ५ करोड हुनेछ।यसरी एकमुष्ट प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन ।

(२) बैंकले ग्राहकअनुसार मूल्यांकन गरी उपलव्ध गराउने पुनरकर्जाको प्रतिग्राहक अधिकतम सीमा रु. २० करोडसम्म हुनेछ। तर, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रतिग्राहक ऋणी रु ५० करोडसम्म पुनरकर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन। यसरी ग्राहकअनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन। 

(३) बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुने छैन। तर, बुँदा नं. १, २ र ३ मा उल्लेखित सीमालाई गभर्नरले पुनरकर्जाको माग, आवश्यकता र औचित्यताको आधारमा हेरफेर गर्न सक्नेछ।

पुनरकर्जा प्रदान गर्ने प्रक्रिया

इजाजतपत्रप्राप्त संस्थाले प्रदान गरेको असल कर्जाको सुरक्षणमा बैंकले देहाय बमोजिमको प्रक्रियाबाट पुनरकर्जा प्रदान गर्नेछ।

(१) प्रतिग्राहक रु १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, रु ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनरकर्जा इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई एकमुष्ट रूपमा प्रदान गरिनेछ।

(२) बुँदा नं.१ बमोजिमका पुनरकर्जाहरु प्रदान गर्दा देहाय बमोजिमको प्रक्रिया अवलम्बन गरिनेछ। 

(क) एकमुष्ट रूपमा प्रदान गरिने पुनरकर्जाको लागि बैंकले इजाजतपत्रप्राप्त संस्थाहरुबाट आवेदन आह्वान गर्नेछ। 

(ख) उक्त आह्वानमा तोकिएको समयावधि भित्रमा इजाजतपत्रप्राप्त संस्थाले आफ्ना प्रत्येक शाखाहरुबाट लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण पुनरकर्जा पाउने ऋणीका लागि प्रतिशाखा न्यूनतम पाँच ग्राहकले सुविधा पाउनेगरी उल्लिखित विवरण समावेश गरी निवेदन पेस गर्न सक्नेछन्। 

(ग) एकमुष्ट पुनरकर्जाको लागि निवेदन पेश गर्न तोकिएको म्याद समाप्त भएको एक महिनाभित्र बैंकले पुनरकर्जासम्बन्धी निर्णय गर्नेछ । यसरी पुनरकर्जा स्वीकृत गर्दा पूर्ण वा आंशिकरूपमा पुनरकर्जा स्वीकृत गर्न सकिनेछ। 

(घ) एकमुष्ट पुनरकर्जा स्वीकृत भएपछि सम्बन्धित इजाजतपत्रप्राप्त संस्थामा सो रकमको प्रवाह बजारको अवस्था, इजाजतपत्रप्राप्त संस्थाको तरलताको अवस्था आदिलाई दृष्टिगत गरी विभिन्न समय–अन्तरालमा अलग अलग किस्तामा उपलब्ध गराउने गरी वितरणको तालिका बनाई सोही अनुसार प्रवाह हुनेछ। 

(ङ) स्वीकृत पुनरकर्जा रकम भुक्तानी हुनुअघि इजाजतपत्रप्राप्त संस्थाको अख्तियार प्राप्त अधिकारीले आवश्यक कागजातसहित तमसुकलगायतका सम्बन्धित कागजातमा हस्ताक्षर गर्नुपर्नेछ। यस्तो अख्तियारी इजाजतपत्रप्राप्त संस्थाको प्रमुख कर्जा अधिकृत वा सो भन्दा माथिल्लो स्तरको कर्मचारीलाई प्रदान भएको हुनुपर्नेछ।

(च) तमसुकको प्रक्रिया सम्पन्न भई इजाजतपत्रप्राप्त संस्थाले भुक्तानी प्राप्त गरेपश्चात सम्बन्धित सबै ग्राहकलाई पुनरकर्जाबापत प्रदान गर्नुपर्ने ब्याजदर सुविधा पुनरकर्जा अवधिभर प्रदान गर्नुपर्नेछ। 

(३) इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा देहायको प्रक्रिया अवलम्बन गरी पुनरकर्जा उपलब्ध गराइने छ। 

(क) पुनरकर्जाको लागि बैंकले इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुवाट आवेदन आह्वान गर्नेछ। 

(ख) उक्त आह्वानमा तोकिएको समयावधि भित्र पुनरकर्जा आवश्यक पर्ने इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेअनुसारको निवेदन पेस गर्न सक्नेछन्। 

(ग) एकमुष्ट पुनरकर्जाको लागि निवेदन पेश गर्न तोकिएको म्याद समाप्त भएको एक महिनाभित्र बैंकले पुनरकर्जासम्बन्धी निर्णय गर्नेछ । यसरी पुनरकर्जा स्वीकृत गर्दा पूर्ण वा आंशिक रूपमा स्वीकृत गर्न सकिनेछ । 

(घ) एकमुष्ट पुनरकर्जा स्वीकृत भएपछि सम्बन्धित इजाजतपत्रप्राप्त ‘घ’ वर्गका संस्थामा सो रकमको प्रवाह, बजारको अवस्था, संस्थाको तरलताको अवस्था आदिलाई दृष्टिगत गरी एकै पटक वा विभिन्न समय–अन्तरालमा अलग अलग किस्तामा प्रवाह गर्न सकिनेछ । 

(ङ) बैंकबाट स्वीकृत रकम भुक्तानी हुनुअघि सम्बन्धित इजाजतपत्रप्राप्त ‘घ’ वर्गका संस्थाले बैंक समक्ष आवश्यक कागजातसहित तमसुकलगायतका प्रक्रिया पूरा गर्नुपर्नेछ । 

(च) इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाको अख्तियार प्राप्त अधिकारीले तमसुक लगायतका सम्बन्धित कागजातमा हस्ताक्षर गर्नुपर्नेछ। यस्तो अख्तियारी इजाजतपत्रप्राप्त ‘घ’ वर्गका संस्थाको प्रमुख कर्जा अधिकृत वा सोभन्दा माथिल्लो स्तरको कर्मचारीलाई प्रदान भएको हुनुपर्नेछ । 

(छ) तमसुकको प्रक्रिया सम्पन्न भई इजाजतपत्रप्राप्त संस्थाले भुक्तानी प्राप्त गरे पश्चात यस्तो पुनरकर्जा प्राप्त गर्ने संस्थाले प्राप्त श्रोतको आधारमा सम्पूर्ण ऋणीको ब्याजदर कम हुने गरी ब्याजदरमा समायोजन गर्नुपर्नेछ।

पुनरकर्जाका लागि आवेदन र योग्यता

पुनरकर्जाकोलागि आवेदन दिन योग्य इजाजतपत्रप्राप्त संस्थाः ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरु पुनरकर्जाका लागि आवेदन पेश गर्न योग्य हुनेछन्। तर, देहायबमोजिमका इजाजतपत्रप्राप्त संस्थाहरु पुनरकर्जाको लागि आवेदन पेश गर्न योग्य हुने छैनन्।

(१) बैंकबाट समस्याग्रस्त घोषणा भएका इजाजतपत्रप्राप्त संस्थाहरु, 

(२) समस्याग्रस्तबाट मुक्त भएको एक वर्ष पुरा नभएको एवं समस्याग्रस्तबाट मुक्त भई तोकिएको न्यूनतम पुँजीकोष तथा चुक्ता पुँजी पुरा नगरेका इजाजतपत्रप्राप्त संस्थाहरु, 

(३) बैंकले समय समयमा पुनरकर्जा सुविधा नपाउने गरी तोकेका इजाजतपत्रप्राप्त संस्थाहरु । 

पुनरकर्जाका लागि योग्य कर्जाहरु

पुनरकर्जा सुविधाका लागि देहायबमोजिमका कर्जा योग्य मानिनेछन् । 

(१) लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाका लागि देहायबमोजिमका कर्जाहरु योग्य मानिनेछन् ।

(क) सञ्चालनमा रहेका उद्यम, व्यवसायको लागि प्रदान भएको रु.१५ लाखसम्मका कर्जाहरु, 

(ख) प्राकृतिक प्रकोप वा कुनै महामारीका कारण बन्द रहेतापनि त्यस्तो घटनाअघि सञ्चालनमा रहेका र व्यवसायिक दृष्टिकोणले भविष्यमा सम्भाव्यता रहेका रु.१५ लाखसम्मका कर्जाहरु

(ग) प्राकृतिक प्रकोपका कारण पुनरुत्थान गर्नुपर्ने लघु, घरेलु तथा साना उद्यमीहरुलाई प्रवाह भएका थप कर्जाहरु, 

(घ) वैदेशिक रोजगारीबाट फर्केका उद्यमीहरुलाई प्रवाह भएका कर्जाहरु, 

(ङ) कृषि उत्पादन तथा प्रशोधन, पशुपंछी पालन, ह्याचरी, मत्स्यपालन आदिमा प्रवाहित कर्जाहरु, 

(च) कृषि औजार तथा यन्त्र उत्पादन तथा बिक्रीवितरण, 

(छ) अनुसूची–४ को खण्ड (क) र (ख) मा तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाहरु,

(ज) बैंकले समयसमयमा तोकेका अन्य लघु, घरेलु तथा साना उद्यम कर्जाहरु । 

(२) विशेष पुनरकर्जाका लागि देहायबमोजिमका कर्जाहरु योग्य मानिनेछन् । 

(क) सञ्चालनमा रहेका निर्यातजन्य उद्योग, व्यवसायलाई प्रवाह भएका कर्जाहरु, 

(ख) न्यून आय भएका महिला, आदिवासी, जनजाती, मधेशी, दलित, फरक ढंगबाट सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम व्यवसायमा प्रवाह भएका कर्जाहरु, 

(ग) रुग्ण उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएका कर्जाहरु, 

(घ) वैदेशिक रोजगारीमा जानेलाई प्रवाह भएको कर्जाहरु, 

(ङ) कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रमा प्रदान गरिएका कर्जाहरु। 

(च) १० मेगावाटभन्दा साना जलबिद्युत् आयोजनाहरुमा प्रदान गरिएका कर्जाहरु । 

(३) साधारण पुनरकर्जाका लागि देहाय बमोजिमका कर्जाहरु योग्य मानिनेछन् ।

(क) जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरुले सञ्चालन गरेका उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, शिक्षा, स्वास्थ्य, संचार, मनोरञ्जन, हवाई उड्डयन, सार्वजानिक यातायात, औषधि उद्योग, डायग्नोष्टिक सेन्टर, स्वास्थ्य शिक्षण संस्था, अस्पताल, फोहरमैला प्रशोधनसँग सम्बन्धित उद्योगमा प्रवाह भएका कर्जाहरु।

(ख) पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, मनकामना, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, महागढीमाई, जनकपुरधाम, धनुषधाम, छिन्नमस्ता, पाँच पोखरी, रारा तथा खप्तड लगायतका क्षेत्रमा पर्यटकीय पुर्वाधार स्थापना गर्न प्रदान गरिएका कर्जाहरु। 

(ग) कोभिड–१९ लगायत संक्रामक रोगजन्य महामारीको कारण पूर्णक्षमतामा सञ्चालन हुन नसकेका तर, भविष्यमा सञ्चालनको सम्भावना रहेका उद्यमी व्यवसायीले लिएका कर्जाहरु। 

(घ) अनुसूची–४ मा तोकिएका उद्योगलाई प्रवाहित कर्जाहरु।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् – ‘राष्ट्र बैंकको पुनरकर्जा कार्यविधि, २०७७ को दोस्रो संशोधनसहित’