काठमाण्डौ । अन्तरिक्षबाट विश्वभर इन्टरनेट सेवा सुरु गर्ने कोसिस गरिरहेको टेक्नोलोजी कम्पनी वानवेभले आज बिहीबार एउटा ठूलो सफलता प्राप्त गर्दैछ। 

लन्डनस्थित यो कम्पनीले अबको केही घन्टामा ३६ स्याटेलाइट लन्च गर्दैछ। यसका साथ इन्टरनेट सेवा दिनका लागि कम्पनीको मेगा स्याटेलाइट अर्बिट (स्याटेलाइटहरुको एउटा घेरा) मा कुल स्याटेलाइटको संख्या २५४ पुग्नेछ। यद्यपि नेटवर्क पूरा गर्नका लागि अझै स्याटेलाइट आवश्यक पर्नेछ। तर उत्तरी गोलाद्र्धमा वाणिज्यिक सेवा सुरु गर्नका लागि यो काफी हुनेछ।

सन् २०२१ को अन्त्यसम्मा कम्पनीले यी स्याटेलाइटका माध्यमबाट इन्टरनेट सेवा सुरु गर्न सक्छ। वानवेभका सीईओ नील मास्टर्सन भन्छन्, ‘यी चिज रातारात पूरा हुँदैन, यसका लागि कैयौँ महिनाको कडा मेहनत लागेको छ। यो स्याटेलाइट लन्च एकदम विशेष रहेको छ। लन्च गर्न लागिएको स्याटेलाइटमा ५० डिग्री उत्तरी अक्षांशबाट उत्तरी ध्रुवसम्म कनेक्टिभिटी हुनेछ र यसले उत्तरी युरोप, बेलायत, ग्रिनल्यान्ड, क्यानडा, अलास्का र आइसल्यान्डसम्मलाई कभर गर्छ।’

स्याटेलाइटको नयाँ ब्याच रुसको सुदूरपूर्वस्थित बिस्टाफ्नी कास्मोड्रोमबाट लन्च गरिनेछ। स्याटेलाइट स्थानीय समयअनुसार बिहान ९ः४८ बजे (नेपाली समयअनुसार आज राति ७ः३० बजे) लन्च गरिनेछ। – एजेन्सी