काठमाण्डौ । नेपालको सबैभन्दा पहिलो र ठूलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डू र नेपालको अग्रणी मोबाइल वालेट इसेवाबिच सहकार्य भएको छ।
आफ्नो क्षेत्रका नेतृत्वदायी कम्पनीहरुबीचको यस समझदारीसँगै फुडमाण्डूका प्रयोगकर्ताहरुले मोबाइल वालेट इसेवामार्फत अर्डरमा भुक्तानी गर्न सक्ने भएका छन्। एक कार्यक्रमबीच फुडमाण्डू र इसेवाबीच भुक्तानी सेवा उपलब्ध गराउनेबारेमा सम्झौता भएको हो। 

सम्झौतासँगै इसेवाका प्रयोगकर्तालाई थप सुविधा दिइनेछ भने फुडमाण्डूका प्रयोगकर्ताहरुले थप भुक्तानीको माध्यम उपयोग गर्न सक्ने छन्। फुडमाण्डूमा हुने अर्डरहरुमध्ये अनलाइन पेमेन्टमा ग्राहकहरुको रुचि बढिरहेको बेलामा इसेवाको उपलब्धताले थप सहजहुने कम्पनीका ब्रान्ड, सेल्स एन्ड मार्केटिङ म्यानेजर श्यामरत्न मालीले बताए। उनले भने, ‘हाम्रोमा अहिले ३० प्रतिशतभन्दा धेरै अनलाइन पेमेन्ट भइरहेको छ र ठूलो नेटवर्क भएको इसेवालाई जोड्न पाउँदा त्यसमा अझ वृद्धि हुने अपेक्षा गरेका छौँ। यसले अब ग्राहकलाई सजिलो तरिकाले फुड अर्डर गर्दा भुक्तानी गर्न सकिनेछ।’

इसेवाको बृहत नेटवर्कमा भएका ग्राहकहरुले सजिलै फुडमाण्डूबाट खानेकुरा अर्डर गर्न सक्ने मालीले बताए। सो सहकार्यले डिजिटल नेपालको अभियानलाई सहयोग गर्ने र ग्राहकहरुलाई सजिलो हुने अपेक्षा गरिएको छ। 

इसेवाका बिजनेस डेभलपमेन्ट हेड अशिष प्रशाईले डिजिटल भुक्तानीको बढ्दो प्रयोगले सेवाग्राहीलाई घरबाटै भुक्तानी गर्न सहज हुने बताए। उनले भने, ‘कोरोना भाइरसको महामारीमा मानिसहरुले घरबाटै विभिन्न अर्डरहरुको भुक्तानी गर्ने प्रचलन बढिरहेको सन्दर्भमा ठूलो नेटवर्क भएको फुडमाण्डुसँग ठूलो भुक्तानी नेटवर्क भएको इसेवा जोडिन पाउँदा खुशी भएका छौँ। यसले डिजिटल अभियानलाई सहयोग पुर्याउनेछ।’

इसेवा र फुडमाण्डुको सहकार्यका अवसरमा फुडमाण्डूले इसेवाबाट भुक्तानी गर्ने ग्राहकहरुलाई पहिलो अर्डरमा २० प्रतिशत वा ३०० रुपैयाँसम्मको छुट दिने घोषणासमेत गरेको छ।