काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज साउन १४ गते अन्तिम दिन रहेको छ।

गत असार ३१ गतेदेखि बैंकले ‘८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर–२०८७’ नामक ऋणपत्र निष्कासन गरेको छ। धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार आज बैंकिङ समयसम्म यो ऋणपत्रमा आवेदन दिन सकिनेछ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गरेको छ। जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ भने सर्वसाधारणलाई बिक्री गरिनेछ।

सर्वसाधारणका लागि निष्कासन गरिएको कुल १२ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ११ लाख ४० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ५ लाख इकाइसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सकिनेछ। 

माछापुच्छ्रेको ऋणपत्र १० वर्षे अवधिको हुनेछ। यसमा लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत नै ब्याज पाउनेछन्।