– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सिन्धुपाल्चोक जिल्लाका स्थानीय र आयोजना प्रभावितका लागि निष्कासन गरिएको पहिलो चरणको मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने समय लम्बिने भएको छ। 

गत वैशाख २१ गतेबाट कम्पनीले पहिलो चरणको आईपीओ निष्कासन गरेको थियो। तर कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञाका कारण वैशाख २५ गतेबाट स्थगित गरिएकोमा गत साउन ५ गतेबाट पुनः आवेदन खुला गरिएको छ।

कम्पनीले पहिलो चरणमा कुल ६० लाख कित्ता आईपीओ जारी गरेको छ। जसमा सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविक साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका वडा नं। ७ र ८ (साविक घुम्थाङ गाविस र साविक मानेश्वरा गाविस) मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण सेयर र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता साधारण सेयर निष्कासन गरिएको छ।

साउन १३ गतेसम्म ३१ हजार ५०० आवेदकबाट कुल ६६ लाख ६९ हजार १५३ कित्ताका लागि आवेदन परिसकेको छ। जसमा सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका छुट्याइएको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ। तर आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओ कम आवेदन परेकोले म्याद लम्ब्याउने विषयमा छलफल भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल सिवाकोटीले जानकारी दिए। उनका अनुसार आयोजना प्रभावितका लागि थप १५ दिन आवेदन दिने म्याद थपिने सम्भावना छ। ‘कम्पनीको बोर्ड मिटिङबाट यसबारे निर्णय हुनेछ’, उनले भने।  

स्थानीयका लागि खुलाइएको आईपीओमा आवेदन दिन सिन्धुपाल्चोक जिल्लामा ३२ वटा र काठमाण्डौमा ७ वटा संकलन केन्द्र तोकिएको छ। यसैगरी लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, ईसेवा र आईएमई पेबाट पनि आवेदन दिन सक्छन्।

यता धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले यो आईपीओमा स्थानीयले डिम्याट नम्बर नभए पनि आफैँ उपस्थित भएर सेयरमा आवेदन दिन सकिने व्यवस्था गरिएको जनाएको छ। 

त्यसो यो कम्पनीको आईपीओमा अचाक्ली आकर्षण देखिएको छ। जसका कारण काठमाण्डौको नक्सालस्थित ग्लोबल क्यापिटलमा आवेदन दिने लगानीकर्ताको उपस्थित बाक्लो देखिएको छ। 

आवेदकको भीड लाग्दा क्यापिटलबाहिर सडकमा ट्राफिक व्यवस्थापनमा समेत हम्मेहम्मे पर्ने गरेको छ। 

कम्पनीका सीईओ सिवाकोटीका अनुसार पहिलो चरणको आईपीओ बिक्री हुनासाथै दोस्रो चरण अर्थात सर्वासाधारणका लागि आवेदन खुलाइनेछ। ‘भदौभित्रै सर्वसाधारणका लागि आईपीओमा आवेदन खुलाइनेछ’, उनले भने।

कम्पनीले दोस्रो चरणमा पुँजी रु. ६ अर्बको १५ प्रतिशत अर्थात रु. ९० करोडबराबरको ९० लाख कित्ता साधारण सेयरमध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने सेयरको ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीलाई र ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने सेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको र बाँकी ८१ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिने कम्पनीले जनाएको छ। 

आईपीओमा सहनिष्कासन तथा बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन्।