काठमाण्डौ । एनसीएचएलका विभिन्न प्रणालीमार्फत आ.व. २०७७/७८ मा फर्छ्यौट गरिएको नगदरहित भुक्तानी कारोबार नेपालको कुल ग्राह्यस्थ उत्पादनभन्दा तीनगुणाले बढी रहेको छ। 

एनसीएचएलले एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, कनेक्ट आईपीएसलगायत विभिन्न भुक्तानी प्रणालीका साथै बैंक वित्तीय संस्था, सदस्य भुक्तानी सेवा प्रदायक, नेपाल सरकारलगायत अन्य विभिन्न संघसंस्थाले प्रयोग गर्ने च्यानलहरु सञ्चालन गर्दै आएको छ।  

गत आ.व.मा एनसीएचएलले कुल ४ करोड ४७ लाखभन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट गरेको छ। जुन अघिल्लो आ.व.को तुलनामा ११७% ले बढी रहेको छ। 

त्यसैगरी रकमको आधारमा ने.रु. १३ खर्ब, अमेरिकी डलर २०.९ करोड, युरो २४.९ करोड र पाउन्ड स्ट्रेलिङ २७.२ करोडबराबरको रकम आफ्ना विभिन्न भुक्तानी प्रणालीमार्फत फर्छ्यौट गरेको हो। उक्त आ.व.मा चेकको कारोबार २१% ले, एनसीएचएल–आईपीएसमा ९४% ले र कनेक्ट आईपीएसमा ५६६% ले कारोबार वृद्धि भएको छ। यसरी तथ्यांक हेर्दा चेकबाट हुने कारोबारको वृद्धि स्थिर हुँदै गइरहेको छ भने डिजिटल भुक्तानी प्रणालीहरुको उपायोग भने उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको विद्युतीय भुक्तानी वृद्धि गरी डिजिटल अर्थतन्त्र निर्माण गर्ने नीतिगत प्रयास तथा कोभिड–१९ समेतको कारणले सिर्जना भएको परिस्थितिले डिजिटल भुक्तानीको  स्वीकार्यता तथा प्रयोगमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। यसका साथै आगामी वर्षमा एनसीएचएलद्वारा  कार्यान्वयन गरिने नेसनल पेमेन्ट स्विच (एनपीएस) मार्फत पनि यसरी बढ्दो डिजिटल भुक्तानीको प्रयोगलाई थप टेवा पुग्ने विश्वास गरिएको छ।  

नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरुबाट प्रवर्द्र्धित यस नेपाल क्लियरिङ हाउसले देशको डिजिटल भुक्तानी पूर्वाधार विकासका निम्ति राष्ट्रियस्तरका भुक्तानी तथा फर्छ्यौटका प्रणालीहरु निर्माण तथा सञ्चालन गर्दै आएको छ। यसमा  ५९ बैंक वित्तीय संस्था, २३ भुक्तानी सेवा प्रदायक, १२ रेमिट्यान्स कम्पनी, ७ इन्सुरेन्स कम्पनी, १२ सरकारी तथा अर्धसरकारी निकाय र अन्य ७ विभिन्न संघसंस्थाहरु आबद्ध छन्।