काठमाण्डौ । युरोपेली संघ ईयूको डाटा सुरक्षासम्बन्धी कानुन उल्लंघन गरेको अभियोगमा ई–कमर्स कम्पनी अमेजनमाथि ८८.६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ। 

लक्जेम्बर्गको डाटा सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले अमेजनमाथि ईयूको कानुनसँग मेल नखानेगरी व्यक्तिगत डाटाहरू प्रशोधन गरेको दाबी गर्दै उक्त जरिवाना तोकेको हो। अमेजनले भने तिर्नुपर्ने उक्त जरिवाना ‘तथ्यमा आधारित नरहेको’ भन्दै आपत्ति जनाएको छ। कम्पनीले सेवाग्राहीको डाटाको कुनै दुरुपयोग नभएको दाबी गरेको छ। 

ठूला प्रविधि कम्पनीहरूमाथि गोपनीयता र गलत सूचनालाई लिएर निगरानी बढाइनुपर्ने चासो उठिरहेका बेला त्यस्तो निर्णय आएको हो। साना व्यवसायहरूले ठूला कम्पनीहरूले आफ्ना बजारको शक्तिलाई दुरुपयोग गरेको भन्दै उजुरीहरूसमेत दिएका छन्।

जुन महिनामा द वालस्ट्रिट जर्नल पत्रिकाले ईयूको गोपनीयतासम्बन्धी कानुनका कारण अमेजनमाथि ४२.५ करोड डलरसम्म जरिवाना हुन सक्ने लेखेको थियो।

अमेजनले सेवाग्राहीको सूचना र विश्वासको सुरक्षा सुनिश्चित गर्नु आफूहरूको उच्च प्राथमिकता रहेको जनाएको छ। सेवाग्राही डाटाको दुरुपयोग नभएको र कम्पनीमाथि लगाइएको आरोप मित्था रहेको अमेजनले दाबी गरेको छ। 

यसअघि गुगल, ब्रिटिस एयरवेज, एचएन्डएम र मारिअट होटल्सजस्ता कम्पनीले कानुन मिचेको भन्दै युरोपेली सरकारहरूबाट जरिवाना खेपेका थिए। –बीबीसीबाट