काठमाण्डौ । सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ। 

बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर खरिदमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगाना मुछिएपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो। अख्तियारले अनुसन्धानका लागि बुक बिल्डङमार्फत आईपीओ जारी गर्न थालिएको प्रक्रियासँग सम्बन्धित सबै कागजातहरु धितोपत्र बोर्डसँग मागेको छ।

सर्वोत्तम सिमेन्टको करिब १२ हजार कित्ता सेयर अध्यक्ष ढुंगानाकी छोरी रेविका ढुंगानाको नाममा भेटिएपछि भित्री कारोबारको रहस्य उजागर भएको थियो। धितोपत्र बोर्डको आचारसंहिताविपरीत ढुंगानाले आफ्नी छोरीको नाममा सेयर किनेको भनेर अहिले सर्वत्र विरोध भइरहेको छ। 

अख्तियारको एक अधिकारीले सुरुमा सर्वोत्तम सिमेन्टले निष्कासन गर्न लागेको आईपीओसम्बन्धी कागजपत्रको अनुसन्धान गरिने बताए। ‘हामीलाई प्राप्त कागजपत्र अध्ययन गरेपछि यो प्रकरणमा मुछिएकाहरुलाई बयानका लागि बोलाउँछौँ’, उनले भने, ‘त्यसपछि मात्र आरोपितहरु दोषी हुन् वा होइन प्रस्ट हुन्छ।’

अख्तियार स्रोतका अनुसार यो प्रकरणमा मुछिएका धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ चन्द्रसिंह साउदलाई बयानका लागि अख्तियार बोलाउने तयारी भयरहेको छ। सीईओ साउदकी पत्नीको नाममा सर्वोत्तम सिमेन्ट सेयर किनेको उजागर भएको थियो। 

यसअघि अर्थ मन्त्रालयले पनि यो प्रकरणमा धितोपत्र बोर्ड र नेप्से दुवै कार्यालयमा पत्राचार गर्दै सञ्चार माध्यममा आएका समाचार विषयमा स्पष्टीकरण सोधेको थियो।