काठमाण्डौ। नेपाल मेडिसिटी अस्पतालका नर्सहरुले बालबालिकाको सघन उपचार गुणस्तरीय कसरी बनाउन सकिन्छ भन्ने विषयमा चारदिने प्रशिक्षण कार्यक्रममा सहभागिता जनाएका छन्। 

गत साउन १८ गतेदेखि २१ गतेसम्म अस्पतालमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा २० जना बालरोग विभागमा कार्यरत नर्सहरुले विभिन्न विषयमा पशिक्षण प्राप्त गरेका हुन्। बाल सघन उपचारमा आवश्यक पर्ने सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्न प्रशिक्षण कार्यक्रममा आईसीयू सेवा, मेकानिकल भेन्टिलेटर, संक्रमण न्यूनीकरण, बिरामी सुरक्षा तथा गुणस्तरीय उपचार, स्तनपानबारेजनचेतना, खानपान सन्तुलन, फिजियोथेरापी, तथा अन्य नैतिकताका विषयहरुलाई समेटिएको थियो। 

नेपाल मेडिसिटी अस्पतालको बालरोग विभाग प्रमुख डा. आना शर्मा तथा नवजात शिशुरोग विभाग प्रमुख डा. सुचिता श्रेष्ठ जोशीले नेतृत्व गर्नुभएको प्रशिक्षण कार्यक्रममा गुणस्तर तथा  बिरामी सुरक्षा, प्रशिक्षण विभाग, पोषण विभाग, नर्सीङ एडुकेटर लगायतको टोली संलग्नता रहेको थियो। 

सघन उपचारका हरेक विषयलाई समेटेको प्रशिक्षण कार्यक्रमबाट सहभागी नर्सहरुले आफ्नो क्षमता अभिवृद्धि गरी कुनै पनि आपतकालीन अवस्थामा बालबालिकाहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न सक्ने डा. आना शर्माको अपेक्षा छ। उनले यस किसिमका प्रशिक्षण कार्यक्रमलाई भविश्यमा पनि निरन्तरता दिइने बताइन्। 

नेपाल सरकारले तेस्रो भेरियन्टको प्रभाव बालबालिकामा पर्न सक्नेबारे सुसूचित गरिरहेको अवस्थामा यस किसिमको प्रशिक्षणले त्यस्तो परिस्थिति आइहाले तयारी अवस्थामा रहन सहयोग पुर्याउने आशा राखिएको अस्पतालले जनाएको छ।