काठमाण्डौ । बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर–भैरहवा उडान शुरुवात गर्ने भएको छ। 

कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले हप्तामा आइतबार, बुधबार र शुक्रबार दिउँसो १२ः५५ बजे तीन  उडान गर्न लागेको जानकारी दिए।  उनले भने, “पर्यटकीय नगरीसँग हवाई उडान जोड्नका लागि उडान शुरु गर्न लागिएको हो।” नारायणगढ–बुटवल सडक विस्तारका कारण यात्रुले सास्ती व्यहोर्दे आएका छन्। 

भैरहवा उडानका लागि एकतर्फी भाडा रु दुई हजार ८३५ देखि रु चार हजार ३३५ सम्म तय गरिएको छ। बुद्ध एयरले भरतपुर–काठमाडौँ नौ  उडान गरिरहेको छ। यस्तै भरतपुर–पोखरा दैनिक एक उडान छ। कोरोना कहरका कारण गरिएको निषेधाज्ञा खुकुलो भएसँगै एयरलाइन्सले उडान शुरु गरेको हो।

शुरुआतमा भैरहवा १८ सिट जहाजबाट उडान शुरु गर्न लागिएको प्रबन्धक बस्नेतले बताए। सन् २००५ बाट चितवनमा उडान शुरुआत गरेको कम्पनीले निषेधाज्ञा अघिसम्म भरतपुर–काठमाडौँ दैनिक १२ उडान भर्दै आएको थियो।

चितवन तेस्रो पर्यटकीय गन्तव्य हो। पोखरा र भैरहवा देशकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछन्। उडानको सञ्जाल जोडिएसँगै पर्यटक बढ्ने अपेक्षा गरिएको छ।

- RSS