काठमाण्डौ । विश्व बजारमा कुनै बेला ६० हजार डलरभन्दा माथि पुगेको बिटक्वाइन ५० प्रतिशत तल ३० हजार डलरसम्म आएर पुनः उकालो यात्रा तय गरेको छ। 

यसरी उकालो लागेको यो क्रिप्टोकरेन्सीमा पुनः कतिसम्म पुग्ला भन्ने विभिन्न अड्कलबाजी चलेको अवस्थामा विश्व बजारमा नै चलेका प्राविधिक औजारहरु इलिअट वेभ र फिवोनासीका आधारमा आज हामीले भविष्यमा मूल्यमा हुन सक्ने घटबढको प्रक्षेपण गरेका छौँ।

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।  

हाल बिटक्वाइनलाई फिवोनासी र इलिअट वेभको संयुक्त रुपमा जोडेर हेर्दा ३० हजार डलरको मूल्यमा यसले एउटा चरण पूरा गरेर नयाँ वेभ बनाउँदै गरेको देखिन्छ। जसअन्तर्गत माइनर डिग्रीको वेभ १मा ४२ हजार ७१६ डलर, वेभ २ मा करेक्सन भएर ३६ हजार २५१ डलर, वेभ ३ मा वृद्धि भएर  ५८ हजार ४३६ डलर र वेभ ४ मा करेक्सन भएर ५२ हजार ५५१ डलर र वेभ ५ पुन वृद्धि भएर फिवोनासीको १.६१ प्रतिशतको वृद्धिले  पहिलेको रेकर्ड ब्रेक गर्ने देखिन्छ। जुन लगभग ७७ हजार डलरसम्म पुग्न सक्ने सम्भावना देखिन्छ। त्यसपछि बिटक्वाइनको मूल्यमा ३८ प्रतिशतसम्म करेक्सन आएर फेरि उकालो लाग्छ भने फिवोनासीको २.६१ प्रतिशतको वृद्धिले लगभग १ लाख ५ हजार डलरसम्म पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)

एमएसीडी लाइनका आधारमा 

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। बिटक्वाइनको मूल्य रेखाले बनाएको एमएसीडी लाइनअन्तर्गत हेर्दा एमएसीडी लाइनले सिग्नल लाइनलाई गएको जुलाई २२ मा बुलिस क्रस ओभर बनाएको छ। जुन अझै भ्यालिड छ भने हिस्टोग्राम पनि सकारात्मक नै छन्। यो आधारमा बिटक्वाइनको मूल्य बुलिस नै रहने अनुमान लगाउन सकिन्छ।