काठमाण्डौ । बहुचर्चित मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओ सर्वसाधारणका लागि दसैँअगाडि नै निष्कासन गरिने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार दसैँअगाडि मध्यभोटेकोशीको आईपीओ निष्कासन हुने प्रबल सम्भावना छ। ‘यसका लागि द्रुतगतिमा प्रक्रिया अगाडि बढाइरहेका छौँ’, उनले भने, ‘हाल पहिलो चरणमा सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीयका लागि निष्कासन गरिएको आईपीओको बाँडफाँड गर्ने तयारी भइरहेको छ।’ 

मध्यभोटेकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले पनि दसैंअगाडि नै सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिने बताए। ‘स्थानीय र आयोजना प्रभावितका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँड गरेको केही दिनभित्रै सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछौँ’, उनले भने। 

नेपाल धितोपत्र बोर्डबाट मध्यभोटेकोशीले चुक्तापुँजी ६ अर्ब रुपैयाँको २५ प्रतिशतबराबरको १ अर्ब ५० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। जसमा १० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ अर्थात ६० लाख कित्ता सेयर कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोकका आयोजना र प्रभावित र स्थानीयका लागि निष्कासन गरिसकेको छ। 

शिवाकोटीका अनुसार पहिलो चरणको आईपीओको बाँडफाँड आगामी सातासम्म बाँडफाँड गरिसक्ने लक्ष्य राखिएको छ। ‘यो साता सबै काम सक्छौँ र आगामी साताभित्रै पहिलो चरणको आईपीओ बाँडफाँड हुन्छ’, उनले भने। 

पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। कुल कित्तामध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने सेयरको ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीलाई र ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने सेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ८१ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिने कम्पनीले जनाएको छ। 

आईपीओको सहनिष्कासन तथा बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन्।