काठमाण्डौ। अफगानिस्तानमा सरकार चलाइरहेको तालिवान समूहले पूर्वउपराष्ट्रपतिको घरबाट ठूलो परिमाणमा नगद र सुन बरामद गरेको छ। अफगानिस्तानका पूर्वराष्ट्रपति अमिरुल्लाह सलेहको घरबाट ६.५ मिलियन डलर नगद र १८ वटा सुनका इँटाहरु बरामद भएको तालिवानले दाबी गरेको छ। 

एक स्थानीय पत्रकारले नगद र सुनले भरिएको दुईवटा सुटकेसको भिडियो सार्वजनिक गरेपछि तालिवानले ट्विटरमार्फत त्यो पूर्वराष्ट्रपतिको घरबाट बरामद भएको दाबी गरेको हो। 

तालिवान समूहले केही समयअघि पूर्वराष्ट्रपति सलेहका भाइलाई पन्जसिरमा हत्या गरेको थियो। अमिरुल्लाह कहाँ छन् भन्नेबारे केही पनि जानकारी बाहिर आएको छैन। 

अमेरिका समर्थित सरकारलाई परास्त गर्दै तालिवानले गत महिना काबुलसहित सम्पूर्ण अफगानिस्तानलाई आफ्नो लिएको थियो। अमेरिकाले आतंककारीको सूचीमा राखेको तालिवानले गत अगस्ट १५ मा राष्ट्रपति कार्यालय कब्जा गरेको थियो। – एजेन्सी