काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले अवितरित ३ करोड ६२ लाख कित्ता बढी हकप्रद सेयर लिलामीमार्फत बेच्ने भएको छ।

कम्पनीले आउँदो असोज ७ गतेबाट अवितरित ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता हकप्रद सेयर लिलामीमा राख्ने भएको हो। जसमा संस्थापक समूहको ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता रहेका छन्।

लिलामी सेयरमा जोकोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा संस्थापक समूहको सेयरमा न्यूनतम १ करोड कित्ता र सर्वसाधारण समूहको सेयरमा १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा कुनै हद लाग्ने छैन।

लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालय तथा ग्लोबल आईएमई बैंकका शाखाहरु बिर्तामोड, विराटनगरको हनुमानदास रोड, जनकपुर, वीरगन्ज आदर्शनगर, हेटौँडा, नारायणगढ, पोखराको न्युरोड, बुटवलको मिलनचोक, बागलुङ, नेपालगन्जको त्रिभुवन चोक, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ। 

बोलपत्र पेस गर्ने अन्तिम मिति असोज १४ गते बैंकिङ समयसम्म तोकिएको छ।