काठमाण्डौ । काठमाण्डौमा भौतिक उपस्थितिमा शैक्षिक संस्था (स्कुल) हरुमा पठनपाठन गराउन नपाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौको बैठकले असोज १ गतेदेखि लागू हुने गरी जारी गरेको आदेशअनुसार भौतिक उपस्थितिमा शैक्षिक संस्थाहरुमा पठनपाठन गराउन नपाइने भएको हो। गर्नैपर्ने भएमा महानगरपालिका तथा नगरपालिकाले विद्यालय सञ्चालन गर्नुपूर्व आआफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीलगायत सबैले अनिवार्य रुपमा कोभिडविरुद्ध खोप लगाउनुपर्ने प्रशासनले जनाएको छ। 

अभिभावक तथा सरोकारवाला समूहहरुको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न सकिने आदेश प्रशासनले जारी गरेको छ। 

यस अवधिमा पर्ने चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागिता सांकेतिक रुपमा मात्र मनाउन पनि प्रशासनले आग्रह गरेको छ।