काठमाण्डौ । हिन्दु धर्मावलम्बीहरुको महान चाड दसैँतिहारलाई लक्षित गर्दै काठमाण्डौको प्रदर्शनीमार्गस्थित जुत्ता पसलहरुमा ‘जुत्ता एक्सचेन्ज मेला’ सुरु भएको छ। 

विगतका वर्षझैँ यस वर्ष पनि ग्राहकलाई सुपथ मूल्यमा जुत्ता उपलब्ध गराउने उद्देश्यका साथ जुत्ता एक्सचेन्ज मेला सुरु गरिएको व्यवसायीहरू बताउँछन्। ‘कोरोनाले गर्दा पोहोर साल त्यति राम्रो व्यापार भएको थिएन। यसपालि बेलैदेखि ग्राहक नयाँ जुत्ता खरिद गर्नका साथै पुराना जुत्ता एक्सचेन्ज गर्न आउनेको संख्या बाक्लिएको छ’, प्रदर्शनी मार्गका एक व्यापारीले भने।

े जुत्ता एक्सचेन्ज मेलामा विशेष गरेर भेनस, फुट स्टेप र एटिएम सुज साथै अन्य थुप्रै ब्रान्डका जुत्ता उपलब्ध छन्। आफूलाई प्रयोग नहुने जुत्ता रु ५०० को दरले सजिलै बिक्री गर्नुका साथै अन्य जुत्तासँग एक्सचेन्ज गर्न सकिन्छ। दसैँभरि चल्ने जुत्ता एक्सचेन्ज मेलामा नयाँ जुत्ताहरु खरिद गर्दा २५ प्रतिशतसम्म छुट पाइन्छ। 

जुत्ता एक्सचेन्ज मेलामा जुत्ता खरिद गर्न उपस्थित एक ग्राहकका अनुसार गुणस्तरीय जुत्ता सस्तो मूल्यमा किन्न सकिने भएकाले जुत्ता किन्न आएको बताउँछन्। ‘पोहोर साल यहीबाँट जुत्ता किनेको थिएँ। अहिले त्यही जुत्ता एक्सचेन्जका लागि आएको छु’, उनले भने।