तुलसीराम ढकाल– अध्यक्ष, नेपाल इन्भेस्टर्स फोरम

यसपालिको दसैँ राजधानीमै मनाइन्छ। मेरो घर यहीँ भएकोले दसैँ प्रायः राजधानीमै मनाउँछु। घरपरिवार र बुवासँगै दसैँ मनाइन्छ। गएको दुई वर्षदेखि देश–विदेश घुम्न गएको छैन।

पोहोर कोभिडले आक्रन्त बनाएको थियो। अहिले खोप लगाएकोले पनि सहज भएको छ। अहिले यसै पनि उमंग रहेको छ। 

मेरो अनुभवमा दसैँ रमाइलो बालपनमा नै हुन्थ्यो। पहिलेको दसैँ र अहिलेको दसैँमा आकाश–जमिनको फरक छ। पहिले घरमै दर्जी बोलाएर कपडा सिउने चलन थियो।  दसैँमा मिठो खान पाउने तथा नयाँ लुगा लगाउने भन्ने थियो। आफन्तहरुसँग भेटघाट गर्न पाउँदा रमाइलो हुन्थ्यो। 

अहिले खान–लगाउन दसैँ नै पर्खिनुपर्छजस्तो मलाई लाग्दैन। 

बाल्यकालमा दसैँ–तिहारको केही रमाइलो अनुभव पनि छ। म त्यतिखेर ८ वर्षको हुँदो हो। रातभरि देउसीभैली खेलेर पैसा उठाइायो। मेरो भागमा त्यही २–४ रुपैयाँ परेको थियो होला। एकठाउँमा केही युवाले लंगुरबुर्जा खेलाइरहेका थिए। पहिले हेर्न मन लाग्यो। त्यसपछि खेल्न मन लाग्यो। सुरुमा केही कमाएँ। तर, पछि त सबै पैसा हारियो। मेरो जीवनमा यो धेरै ठूलो पाठ भयो। त्यसपछि मैले कहिले पनि जुवातास र लंगुरबुर्जा खेलेको पनि छैन। म आमयुवा साथीभाइलाई नखेल्न पनि सुझाव दिन्छु।

म आमलगानीकर्तालाई सेयर बजारमा धैर्यताका साथ कारोबार गर्न सुझाव पनि दिन्छु। बजार घटबढ हुन्छ। बढ्दा मात्तिने र घट्दा आत्तिने गर्नु हुँदैन। सेयर बजारमा अनुशासन र अध्ययन दुवै आवश्यक हुन्छ। 

म बिजशालामार्फत सबैलाई बडादसैँ, तिहार र छठको शुभकामना दिन चाहन्छु। नवदुर्गा भवानीको कृपाले सबै जीवन सुखमय होस्। 

(बिजशालाकर्मी अर्जुन तिमिल्सिनासँगको कुराकानीमा आधारित)