काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ अर्को साता बाँडफाँड हुने भएको छ । 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो कम्पनीको आइपीओ अर्को साता बाँडफाँड गर्ने गरी आवश्यक तयारी थालिएको छ । 

'संभवत शुक्रबारसम्म प्रिअलटमेन्ट होला ।' क्यापिटलका सीइओ पारसमणि ढकालले भने-'सञ्चयकर्ताको दोहोरो आवेदन परे नपरेको हेर्ने काम भइरहेकोले मध्यभोटेकोशीको आइपीओ बाँडफाँडमा समय लाग्ने भएको हो ।' 

मध्य भोटेकोशीले कम्पनीले गत आसोज २० गतेबाट कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। 

कुल निष्कासन हुने कित्तामध्ये ३ लाख ६० हजार कित्ता (४ प्रतिशत) कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ४ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन पेस गरेका छन्। 

आइपीओमा २३ लाख ९३ हजार ४२८ आवेदकले ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन दिएका छन् । 

यसअघि कम्पनीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित र जिल्लाकै अन्य क्षेत्रका बासिन्दाका लागि कुल ६० लाख कित्ता निष्कासन गरेर बाँडफाँड पनि गरिसकेको छ। 

मध्य भोटेकोशीको आईपीओको सहनिष्कासनकर्तामा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन्।