काठमाण्डौ । रोल्स–रोयसले आफूले निर्माण गरेको ‘स्पिरिट अफ इनभेसन’ विमान विश्वको सबैभन्दा तीव्रगतिको विद्युतीय विमान भएको दाबी गरेको छ।

भर्खरै गरिएको एउटा परीक्षणमा उक्त विमान ६२३ किलोमिटर प्रतिघन्टाको गतिमा उडेको कम्पनीले जनाएको छ। उक्त विमानले तीनवटा फरक दूरीमा नयाँ विश्वकीर्तिमान गरेको विश्वास गरिएको छ। रोल्स–रोयसले प्रमाणीकरणका लागि सम्बन्धित तथ्यांक वर्ल्ड एअर स्पोर्ट्स फेडरेसनलाई पठाएको छ। यूकेको विल्टसरमा नोभेम्बर १६ मा उक्त विमानका परीक्षण उडानहरु गरिएका थिए।

कम्पनीका एक निर्देशक फिल ओडेलले उडाउँदा स्फिरिट अफ इनभेसन विमानले सबैभन्दा तीव्रगति हासिल गरेको थियो। ‘यो मेरो व्यावसायिक जीवनको मुख्य आकर्षण हो अनि पूरै टोलीका लागि एउटा अविश्वसनीय उपलब्धि हो’, उनले भने।

रोल्स–रोयसका अनुसार स्पिरिट अफ इनभेसनको गति यसअघि सन् २०१७ मा कीर्तिमान राखेको जिमन्स इअरक्राफ्टले बनाएको एक्स्ट्रा ३३० एलई एरोब्याटिक विमानभन्दा २१३.०४ किलोमिटर प्रतिघण्टाले बढी थियो।

तीन किलोमिटर उड्दा रोल्स–रोयसको विमानको गति ५५५.९ किलोमिटर प्रतिघन्टा र १५ किलोमिटर उड्दा ५३२.१ किलोमिटर प्रतिघन्टा पुगेको थियो। अनि ३ हजार मिटरको उचाइमा २०२ सेकन्डमा पुगेर यसले सबैभन्दा चाँडै त्यति माथि पुग्ने कीर्तिमान ६० सेकेन्डले घटाएको विश्वास गरिएको छ।

यो विमानले ४०० किलोवाटको विद्युतीय पावरट्रेन प्रयोग गर्छ। जसको क्षमता ५३५ बीएचपी सुपरकारको जति हुन्छ।

रोल्स–रोयसले आफूले प्रयोग गरेको ‘प्रपल्सन ब्याट्री प्याक’ एकदम शक्तिशाली भएको र त्यो ७ हजार ५०० वटा फोन चार्ज गर्न सक्ने खालको भएको बताएको छ।

कोप२६मा विश्वको ध्यान कार्बन उत्सर्जन घटाउनुपर्छ भन्ने कुरामा केन्द्रित भएको उल्लेख गर्दै रोल्स–रोयसका प्रमुख कार्यकारी वारन इस्टले भने, ‘यो ‘जेट जिरो’ लाई यथार्थ बनाउन सहयोगी हुने एउटा कोशेढुंगा हो।’

‘यसले आकाश, भूमि र समुद्रमा हुने परिवहनमा कार्बन घटाउन आवश्यक महत्वपूर्ण प्राविधिक खोज उपलब्ध गराउने हाम्रो आकांक्षालाई सघाउँछ’, इस्टले भने। 

रोल्स–रोयसले फेडरेसन एरोनटिक इन्टरनेसनल (एफएआई) ले आफ्नो उपलब्धिलाई प्रमाणीकरण गरिदिने र चाँडै त्यसलाई विश्व कीर्तिमानको मान्यता दिने अपेक्षा गरेको छ। –बीबीसीबाट