काठमाण्डौ । अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन बनाउने प्रोफेसर डेम सारा गिल्बर्टले भविष्यमा देखिने महामारी वर्तमानको कोरोना संकटभन्दा घातक हुने सक्ने चेतावनी दिएकी छन्।

प्रोफेसर गिल्बर्टले आफ्नो ४४ औँ रिचर्ड डिम्बलबी व्याख्यामा यस्तो चेतावनी दिएकी हुन्। उनले त्यस्ता महामारीसँग लड्ने तयारी गर्न अझै धेरै फन्ड आवश्यक पर्ने पनि बताएकी छन्।

गिल्बर्डले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनमाथि हाल उपलब्ध भ्याक्सिनहरुको प्रभाव कम पर्न सक्ने चेतावनी पनि देखिएकी छन्। ‘अहिलेसम्म यो भेरिएन्टका बारेमा सत्यतथ्य बाहिर आउन सकेको छैन, त्यसैले मानिसहरुले थप सतर्कता अपनाउन आवश्यक छ’, उनले भनिन्, ‘त्यसैले भविष्यमा आउन सक्ने महामारी अझै खतरनाक हुन सक्छ। अधिक संक्रामक र अधिक घातक हुन सक्छ।’

कोरोना महामारीले ठूलो आर्थिक नोक्सान भइरहेको उल्लेख गर्दै गिल्बर्डले भविष्यमा आउन सक्ने महामारीसँग लड्ने तयारी गर्न आवश्यक फन्डको कमी हुन सक्ने पनि बताइन्। ‘त्यसैले हामीले कोभिडबाट जुन पाठ र अनुभव पाएका छौँ, त्यसलाई व्यर्थ हुन दिन हुँदैन’, उनले भनिन्। –बीबीसीबाट