काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले आर्थिक वर्षको २०७७/७८ का लागि प्रस्तावित लाभांश दरमा परिमार्जन गरेको छ।

कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले लाभांश दरमा परिमार्जन गरेको हो। गत आर्थिक वर्षको स्वीकृति अन्तिम लेखापरीक्षण प्रतिवेदनमा करसम्बन्धी व्यवस्था फेरबदल हुने अवस्थाले स्वीकृत वित्तीय विवरणमा समेत सारभूत असर पर्ने देखिएकोले वित्तीय विवरणसँगै लाभांश दरमा परिमार्जन गर्नुपरेको कम्पनीले जनाएको छ।

परिमार्जित वित्तीय विवरणअनुसार कम्पनीको सञ्चित मुनाफा घट्न गएकोले सोहीअनुसार  गत आर्थिक वर्षको मुनाफा तथा सेयर प्रिमियमबाट बोनस सेयर र नगद लाभांश परिमार्जन गरिएको कम्पनीले स्पष्ट पारेको छ। अब परिमार्जित लाभांश दरअनुसार कम्पनीले हालसम्म कायम चुक्तापुँजी ८० करोड १ लाख रुपैयाँको ६ प्रतिशतले हुन आउने ४ करोड ८० लाख ६०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३१५७ प्रतिशतले हुन आउने २५ लाख २६ हजार ६३२ रुपैयाँबराबरको नगद लाभांश गरी कुल ६.३१५७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

कम्पनीले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत गरी कुल ७.३६८४ नगद लाभांश प्रस्ताव गरेको थियो।

सोही करसम्बन्धी प्रावधानकै कारण कम्पनीले हिजो एक सूचना जारी गर्दै यही पुस ३० गते डाकिएको २५ औँ वार्षिक साधारणसभा स्थगित गरेको थियो। 

अब परिमार्जित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि पुनः डाकिने वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।