काठमाण्डौ । कोरोनाकालमा विश्व अर्थव्यवस्था झट्का लाग्यो। लाखौँ मानिस आर्थिक संकटको चपेटामा परे। तर यही कोरोनाकाल विश्वका अर्बपतिहरुका लागि फलिफाप भएको छ। 

परोपकारी गैरनाफामूलक संस्थापक अक्सफामको प्रतिवेदनअनुसार कोरोनाकालमा विश्वका अर्बपतिहरुको कुल सम्पत्ति ५ हजार अर्ब डलरले बढेको छ। विश्व १० शीर्ष धनाढ्यको सम्पत्ति कोरोनाकालमा झन्डै दोब्बरले बढेको प्रतिवेदनमा उल्लेख छ। 

अक्सफामका अनुसार अर्बपतिहरुको कुल सम्पत्ति सन् २०२० मार्चमा ८.६ ट्रिलियन डलर थियो। जुन सन् २०२१ नोभेम्बरसम्म बढेर १३.८ ट्रिलियन डलर भएको छ। 

प्रतिवेदनअनुसार कोरोनाकालको यो अवधिमा विश्व शीर्ष १० धनाढ्यहरुको कुल सम्पत्ति दैनिकजसो १.३ अर्ब डलरको हिसाबले बढेको छ। यो अवधिमा उनीहरुको सम्पत्ति लगभग दोब्बरले बढेको छ। 

यी १० धनाढ्यको कुल सम्पत्तिको आकार विश्वका करिब ३.१ अर्ब गरिबको सम्पत्तिभन्दा ६ गुणाले ठूलो रहेको छ। 

अक्सफामले आफ्नो प्रतिवेदनमा सरकारहरुले यी शीर्ष धनाढ्यमाथि भारी कर लगाउनुपर्ने र उक्त करबापत प्राप्त रकम भ्याक्सिन र स्वास्थ्य व्यवस्था चुस्त पार्नमा प्रयोग गर्नुपर्ने सुझाव दिएको छ। कोरोनाकालमा अर्थव्यवस्था मजबुत पार्न केन्द्रीय बैंकहरुले हजारौँ अर्ब डलर वित्तीय बजारमा पठाएको प्रतिवेदनमा उल्लेख छ। ‘तर नतिजा यस्तो देखियो कि अधिकत्तर पैसा अर्बपतिहरुकै खल्तीमा गयो’, प्रतिवेदनमा भनिएको छ। –एजेन्सी