काठमाण्डौ । व्यावसायिक भुक्तानीको प्लेटफर्म कर्पोरेटपे प्राणालीको स्तरोन्नति गरी विभिन्न सुविधासँगै अब अनलाइन रजिस्टर गर्न सकिने सुविधा पनि थप गरिएको छ।

बैंक तथा वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकले अब अनलाइन माध्यमबाट नै प्रारम्भिक रजिस्ट्रेसन प्रक्रिया पूरा गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट सेवा सुचारु गर्न सक्नेछन्। यसका साथै उक्त प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, पटक–पटक गरिने भुक्तानीका लागि ‘क्विक पेमेन्ट’, खाताको स्टेटमेन्ट हेर्ने सुविधालगायत अन्य सेवा सुविधा पनि थप गरिएका छन्।

अनलाइन रजिस्ट्रेसनका निम्ति बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकले corporatepay.connectips.com मा गई मागिएका कम्पनीसम्बन्धी विवरण दाखिला गरी, कम्पनीको आवश्यकताअनुरुप Hierarchical Role Assign गरी, बैंक खातासम्बन्धी विवरण दाखिला गरी एकपटकको अनलाइन रजिस्ट्रेसन प्रक्रिया पूरा गर्न सक्दछन् र सो अनलाइन रिक्वेस्टका आधारमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सब्मिट गरिएका कागजपत्रका आधारमा सेवा सुचारु गर्न सक्नेछन्। यस अनलाइन सुविधासँगै ग्राहकले बैंक तथा वित्तीय संस्थाको शाखा नपुगीकनै प्रारम्भिक रजिस्ट्रेसन प्रक्रिया पूरा गरी बैंकबाट एकपटकमात्रै अप्रुभल लिई सेवा सुचारु गर्न सकिने हुँदा कर्पोरेटपे प्रणालीमा आबद्ध हुन झन सहज हुने अपेक्षा गरिएको छ।

एनसीएचएलद्वारा सञ्चालन गरिएको उक्त प्रणालीमा हाल ४८ बैंक तथा वित्तीय संस्थामार्फत व्यावसायिक ग्राहकलाई फन्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, युटिलिटीसम्बन्धी भुक्तानीलगायतका विभिन्न भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ। भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नका लागि आवश्यक Multi- Authorization तथा Multiple signatories को समेत उपयुक्त व्यवस्था रहेको छ। प्रणालीमा रियल टाइममा रिटेल पेमेन्ट स्विचमार्फत प्रतिकारोबार रु. २० लाखसम्म र एनसीएचएल–आईपीएसमार्फत नन–रियल टाइममा प्रतिकारोबार रु. २० करोडसम्म तथा नेपाल सरकारको भुक्तानी प्रतिकारोबार रु. ३० करोडसम्म गर्न सकिन्छ। 

यसका साथै यो प्रणालीमा एउटै प्लेफर्ममा एकभन्दा बढी बैंक खाताहरु लिंक गरी कारोबारहरु गर्न सक्ने व्यवस्थासमेत रहेको छ।