काठमाण्डौ । रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर बलियो बन्दै गएको छ।

अन्तर्राष्ट्रिय बजारमा डलर बलियो बन्दै जाँदा त्यसको प्रभाव नेपालमा परेको छ। नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा हालसम्मको इतिहासमै निकै कमजोर बनेको छ। 

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि १ अमेरिकी डलरबराबर १२३.४४ नेपाली रुपैयाँ विनिमय दर तोकेको छ। यो विनिमय दर हालसम्मकै उच्च हो।

यसअघि कोभिडको सुरुआतमामा पनि डलरको भाउ निकै बढेको थियो। तर त्यतिबेला डलरको विनिमय दर आजको जति पुगेको थिएन। 

रुस–युक्रेन युद्ध सुरु भएको १३ दिन भइसकेको छ। गत फागुन १२ गते रुसले युक्रेनमाथि आक्रमण गर्दा डलरको भाउ १२१.०३ रुपैयाँ रहेको थियो। यसबीच डलरको भाउ घटेर ११९.५६ रुपैयाँसम्म आएको थियो। तर, अहिले फेरि डलर बलियो बन्दै गएको छ। 

डलरको भाउ बढ्दा आयातित सामानको मूल्य पनि बढ्छ। यसले उपभोग्य वस्तुहरुको भाउ पनि बढ्नेछ अर्थात उपभोक्ताले आफ्नो दैनिक उपभोग्य सामान किन्न अब बढी खर्च गर्नुपर्ने हुन्छ।

डलरको भाउ बढ्दा वैदेशिक रोजगारमा गएकाहरुबाट प्राप्त हुने रेमिट्यान्स आम्दानी भने बढ्नेछ। निर्यात व्यापारबाट हुने आम्दानी पनि वृद्धि हुनेछ। तर, नेपालको परिवेशमा निर्यातभन्दा आयातको परिमाण उच्च भएकोले अर्थतन्त्रमा नकारात्मक असर पर्ने विज्ञहरु बताउँछन्। 

रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र सुनको भाउ बढेको छ। मकै, गहुँलगायत विभिन्न अन्नको मूल्य बढ्ने क्रम जारी छ।

रुस–युक्रेन युद्ध सुरु भएयता नेपालको तेल घाटा मासिक ५ अर्ब रुपैयाँ पुगेको छ।  सुनको भाउ बढेर प्रतितोला १ लाख रुपैयाँ नाघेको छ। अन्तर्राष्ट्रिय बजारबाट आयात हुने औद्योगिक कच्चा पदार्थको भाउ पनि बढेको छ।

यो अवस्थामा डलरको भाउ बढ्दा आउँदा दिनमा नेपालको अर्थतन्त्र थप प्रभावित हुन सक्ने अर्थशास्त्रीहरु बताउँछन्।