काठमाण्डौ। माछापुच्छ्रे बैंक लिमिटेडले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सीसीयू वार्ड निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्देश्यका साथ स्थापना गरेको उक्त २४ शय्याको सीसीयू वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो। आज मंगलबार आयोजित एक कार्यक्रमका बीच बैंकका अध्यक्ष डा. वीरेन्द्र महतोले उक्त सीसीयू वार्डको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीलाई हस्तान्तरण गरेका छन्। 

उक्त सीसीयू वार्ड हस्तान्तरण  कार्यक्रममा माछापुच्छ्रे बैंकको सञ्चालक समितिका सदस्यहरु रोशन केसी, विश्वप्रकाश गौतम, मुकुन्द महत, हरिभक्त सिग्देल, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालगायत उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो। 

बैंकले विशुद्ध बैंकिङ सेवाका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न संघसस्थाहरुलाइ सहयोग गर्दै आएको थियो। त्यस्तै बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ।

बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।