काठमाण्डौ । पछिल्लो समयमा अधिकांश वित्तीय सूचकमा उत्साहजनक प्रगति गरिरहेको मेगा बैंक लिमीटेड अर्को एक वाणिज्य बैंकलाई गाभेर बलियो बन्ने तयारीमा जुटेको छ । 

मेगा बैंक लिमीटेड केही समयअघिदेखि सर्वाधिक विवादमा तानिएको कुमारी बैंक लिमीटेडलाई मर्ज गरेर ठूलो वित्तीय संस्था बन्ने तयारीमा जुटेको स्रोतहरुले बताएका छन् । 

नक्कली कागजातका आधारमा १९ करोड कर्जा प्रवाह गरेको घटनापछि कुमारी बैंक नेतृत्व संकटमा छ । यही प्रकरणमा मुछिएका बैंकका प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिम्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिष तिम्सिना बैंकबाट विदा भइसकेका छन् । अहिले कुमारी बैंक रामचन्द्र खनालको कामचलाउ नेतृत्वमा चलिरहेको छ । यो प्रकरणका कारण कुमारी बैंकको इमेज बिग्रिएको छ । यस्तो बेलामा बैंकले इमेज सुधार्न आक्रामक मुभ लिनुपर्ने वा अन्य कुनै बैंकमा बिलय भएर नयाँ यात्रा सुरु गर्नुपर्ने विकल्पहरु मात्र बाँकी छन् । 

१९ करोडको प्रकरणमा मुछिएको कुमारी बैंक संचालक समितिले पनि पछिल्लो समय मर्जरका लागि संभावित विभिन्न बैंकहरुसँग छलफल गरिरहेको छ । आफैं अगाडि बढ्नुभन्दा मर्जर गरी ‘ठूलो’ बनेर अगाडि बढ्दा सहज हुने ठानेर कुमारी बैंकले पार्टनर खोजिरहेको बेला मेगा बैंक सकारात्मक भएपछि छलफलहरु अगाडि बढेका स्रोतको दाबी छ । 

‘मेगा र कुमारी बैंकका संचालकबीच मर्जरका लागि केही चरणका छलफल भइसकेका छन् । सबै कुराहरु सकारात्मक रुपमा अगाडि बढिरहेका छन् ।’ मेगा बैंकस्थित उच्च स्रोतले भन्यो–‘केही साताभित्रै मेगा कुमारी मर्जको प्रारम्भिक समझदारी हुने खबर आए अचम्म नमान्दा हुन्छ ।’ 

कुमारी बैंकका एक संचालकले समेत मेगा बैंकसँग निकै घनिभूत छलफल भइरहेको स्वीकार गरेका छन् । ‘मर्जरका लागि पेचिलोमध्येको एक विषय कर्मचारी समायोजन हाम्रोतर्फबाट सहज देखिन्छ ।’ ती संचालकले भने–‘कामू सीइओको भरमा बैंक चलिरहेको छ । अनुजमणि र मनिष बाहिरिएपछि मेगामा जाँदा उच्चपदस्थ कर्मचारी समायोजनको लफडा समेत नहुने देखिन्छ ।’ 

मेगा बैंकले समेत अहिलेकै बैंकको व्यवस्थापकीय नेतृत्वलाई कुमारीले स्वीकार गरेर अगाडि आउने संकेत दिएपछि उत्साह बढेको पाइएको छ ।

‘मेगाले कुमारी बैंकलाई गाभ्दैछ भन्ने विषय दुवै बैंकका उच्चपदस्थ कर्मचारीमाझ पनि भाइरल भएको छ ।’ स्रोत भन्छ–‘यी दुई बैंक मर्जमा जानसक्ने संभावना प्रवल देखिन्छ ।’

मेगा कुमारीबीच मर्जर हुने हल्ला कुमारीमा भन्दा मेगामा बढी व्यापक बनेको देखिएको छ । कुमारीको उच्च व्यवस्थापनमा आधिकारिक रुपमा यो विषयले प्रवेश नपाएको एक कर्मचारी बताउँछन् । ‘संचालकहरुको लेभलबाट यो कुरा अगाडि बढेको हुनसक्छ ।’ एक उच्चपदस्थ कर्मचारीले बिजशालासँग भने–‘तर मेगासँग मर्जरमा जाने विषय व्यवस्थापन तहसम्म चाहिँ आइपुगेको छैन ।’