काठमाण्डौ। वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनी विक माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ। 

यस वर्ष मार्च २१ तारिखदेखि २७ तारिखसम्म परेको ग्लोबल मनी विकअन्तर्गत बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयमार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गरेको थियो। 

बैंकले देशका ७ वटै प्रदेशमा स्थानीय स्कुल कलेज, क्लबहरुसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी अन्तर्क्रिया तथा साक्षरता र्‍यालीहरुको आयोजना गरी ग्लोबल मनी विक मनाएको हो। बैंकले ग्लोबल मनी विकअन्तर्गत चैत १२ मा काठमाण्डौलगायत देशका विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता जगाउने उद्देश्यले र्‍याली निकालेको थियो। 

विभिन्न वित्तीय साक्षरतासम्बन्धि जानकारीहरु लेखिएका प्लेकार्डसहित राजधानीको बुढानिलकण्ठस्थित होटेल सब्रिनाबाट सुरु भएको र्‍याली भंगाल, चुनिखेल, सुन्दरबस्ती, कपन, गुम्बा, कपनहुँदैै पुनः होटेल सब्रिनामा नै आएर समापन भएको थियो।  

र्‍यालीमा बैकका सञ्चालक समितिका सदस्य जयमुकुन्द खनाल, प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालगायत काठमाण्डौ उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेखनीय सहभागिता थियो। 

त्यस्तै बैंकले ग्लोबल मनी सप्ताहकै उपलक्ष्यमा काठमाण्डौ बाहिर लुम्बिनी प्रदेशको भैरहवा र नेपालगन्ज, मधेश प्रदेशमा गोलबजार र जनकपुर प्रदेश नं. १ मा ईट्टहरी र बिर्तामोड, सुदूरपश्चिम प्रदेशमा धनगढी र गण्डकी प्रदेशमा पोखरालगायतका स्थानहरुमा पनि वित्तीय साक्षरता र्‍याली निकालेको थियो भने सप्ताहभरि बैंकका शाखाहरुले विभिन्न स्कुल, कलेज तथा स्थानीय क्लबहरुमा विभिन्न उमेर समूहलाई लक्षित गर्दै वित्तीय साक्षरताअन्तर्गत वित्तीय ज्ञान, सुरक्षित तथा डिजिटल बैंकिङ कारोबारसम्बन्धी सचेतना जगाउने उद्देश्यले अन्तर्क्रिया कार्यक्रमहरुको आयोजना गरेका थिए। यसका साथै सोही अवधिमा बैंकले विभिन्न सञ्चारमाध्यमहरुमार्फत वित्तीय साक्षरतासम्बन्धी रेडियो नाटक एवं जिंगलसमेत प्रसारण गरेको थियो। 

माछापुच्छ्रे बैंकले आमग्राहकलाई लक्षित गर्दे यसअघि पनि विभिन्न समयमा विभिन्न माध्यममार्फत वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आएको थियो। 

बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।