– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सोमबार २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग आकस्मिक छलफल गरी विलासिताका वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न निर्देशन दिएको छ। बढ्दो शोधान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चितीले अर्थतन्त्र नै कहालिलाग्दो अवस्थामा रहेको उल्लेख गर्दै केन्द्रीय बैंकले उक्त निर्देशन दिएको हो।

अत्यावश्यकबाहेकका वस्तु आयात रोक्ने राष्ट्र बैंकको पछिल्लो निर्देशनले सबैभन्दा बढी असर गाडी बिक्रेताहरुलाई हुने देखिन्छ। सम्भवतः गाडीको आयात नै केही समयका लागि ठप्प हुन् सक्छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा राष्ट्र बैंकको पछिल्लो निर्देशनले अटोमोबाइल्स व्यवसायीहरु शोरुम नै बन्द गरेर बस्नुपर्ने अवस्था आउने बताउँछन्। ‘इलेकट्रोनिक्सलगायत अन्य थुप्रै विलासिताको समानहरु पनि आयात हुन्छन्। तर, राष्ट्र बैंकले भने अटोमोबाइल्सलाई नै मात्र बढी टार्गेट गरेको देखियो’, उनले भने, ‘अटोमोबाइल्स भनेको कारमात्र नभएर वीरगन्जदेखि काठमाण्डौसम्म ढुवानी गरेर सरसामान ल्याउने ट्रकहरु पनि पर्छन्। कर्णालीमा खाद्य सामग्री पुर्याउने, त्यहाँको किसानहरुले उत्पादन गरेको समान ल्याउने गाडीहरु पनि अटोमोबाइल्समा नै पर्छन्। त्यसैले सरकारले विलासिताको वस्तु भनेर निर्देशन जारी गर्दैगर्दा ट्रक चालकदेखि किसान सबैलाई असर गर्ने देखिन्छ।’

अहिले देशको अर्थतन्त्र हेरेर आफूहरु गाडी आयातमा सरकारसँग सहकार्य गरेर नियन्त्रण गर्न तयार रहेको थापाले बताए। ‘तर, कन्ट्रोलको नाममा व्यवसाय नै ठप्प गर्ने कार्य गर्नुहुँदैन’, उनले भने, ‘विगतमा पनि समस्या आउने गरेको थियो। तर, यसरी आयात नै बन्द भने भएको थिएन। अहिले नै अटोमोबाइल्सलाई टार्गेट गरेर गर्नुपर्ने औचित्य र कारण हामी व्यवसायीहरुले पनि बुझ्न सकेको छैनौँ।’

विगत केही महिनादेखि बैंकहरुले अटोमोबाइल्सलाई फाइनाइन्स नगरेको अवस्था रहेको थापाले बताए। ‘त्यस्तै एलसीमा मार्जिन राख्नुपर्नेजस्ता निर्देशनले ३–४ महिनादेखि व्यवसाय चलाउन नै गाह्रो अवस्थामा भएको बेला हिजोको निर्देशनले व्यवसायीहरुलाई झन् असर गर्ने देखिन्छ’, उनले भने। 

‘सरकारलाई अटोमोबाइल्स व्यवसायीहरुले पनि सहयोग गर्नुपर्छ। तर, हिजोको गाडीको एलसी नै नखोल्नु भनेर अप्रत्याशित निर्णय आयो’, थापा भन्छन्, ‘समस्या नै आएको हो भने गाडीमात्र नभएर आवश्यकता हेरेर अन्य आयात पनि रोक्नुपर्छ। हामी व्यवसायी पनि आवश्यकताअनुसार नियन्त्रण गर्न तयार छौँ। तर, यसरी बन्द नै गर्नु जायज हुँदैन।’

थापाले राष्ट्र बैंकले हिजो जारी गरेको निर्देशनबारे छलफल गर्न आज अटोमोबाइल्स व्यवसायीहरुसँग मिटिङ बस्ने जानकारी दिए।