काठमाण्डौ। बैंकिङ क्षेत्रमा नयाँ–नयाँ स्मार्ट सुविधाहरुसहित विभिन्न ट्रेन्ड सेट गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप ‘एमबीएल ए–स्मार्ट’ को सुरुआत गरेको छ। 

यसअघि माछापुच्छ्रे मोबाइल मनी (एमथ्री) का रुपमा सञ्चालनमा रहेका मोबाइल बैंकिङ एपलाई बैंकले ओम्नी च्यानलमा आधारित परिस्कृत र परिमार्जित गरी एमबीएल एम–स्मार्टका रुपमा शुभारम्भ गरेको हो।

विभिन्न नयाँ सुविधासहित शुभारम्भ गरिएको एमबीएल एम–स्मार्ट एपमा आफैँले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिस्ट्रेसन गर्न सकिने मोबाइलबाटै खाता खोल्न सकिने, मोबाइल फोनबाट नै लोन लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमा नै हेर्न सकिने, नेपाल क्यूआर स्क्यान गरी क्यूआर भुक्तानी गर्न मिल्ने, विभिन्न मोबाइल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ती–पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानीलगायतका सुविधाले भरिपूर्ण छ। बैंकले एमबीएल एम–स्मार्टलाई भर्चुअल शाखाका रुपमा स्थापित गर्दे ग्राहकलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप संचालनमा ल्याएको हो। 

समयसापेक्ष आफ्ना सेवा सुविधालाई थप पस्किृत र परिमार्जित गर्दै लैजाने रणनीति तथा ग्राहकलाई पूर्ण रुपमा डिजिटल सेवाहरु प्रदान गर्ने लक्ष्यसहित अगाडि बढिरहेको माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक विच्याट पे सुरुआत गरेको थियो। 

त्यस्तै आर्टिफिसियल इन्टेलेजेन्सीमा आधारित च्याटबट ‘माया’ पनि नेपालमा पहिलोपटक माछापुच्छ्रे बैंकले नै शुभारम्भ गरेको हो। बैंकले ओम्नी च्यानलमा आधारित अत्याधुनिक कल सेन्टर, व्यक्तिगत तथा कर्पोरेट इन्टरनेट बैंकिङ, आफ्नै वालेट रेमिट एपलगायतका यस्ता थुपै सुविधाहको माध्यमबाट ग्राहकहरु बैंक आउनै पर्ने बाध्यता कम गर्दै लगेको छ। नयाँ नयाँ डिजिटल सेवाको साथमा ग्राहकलाई डिजिटल युगको अनुभव प्रदान गर्दै आफूलाई एउटा स्मार्ट बैंकका रुपमा सधैँ अग्रस्थानमा राख्न सफल भएको छ। 

यसै क्रममा डिजिटल कारोबारलाई अझ सहज र सरल बनाउँदै बैंकिङ सेवालाई अर्को तहमा पुर्याउने उद्देश्यसहित बैंकले मोबाइल बैंकिङ एप एमबीएल एम–स्मार्ट सञ्चालनमा ल्याइएको हो। 

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।