काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंक लिमीटेडले अधिकांश सूचकमा प्रगति गरेको छ । 

बैंकले आज प्रकाशित गरेको अपरिस्कृत तेश्रो त्रैमासको वित्तीय विवरणमा मुख्य सूचकमा प्रगति भएको देखिएको हो । 

समीक्षा अवधिमा माछापुच्छ्रे बैंकले खूद मुनाफा १ अर्ब ५५ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २०.२४ प्रतिशतले बढी हो । 

यस्तै, बैंकले अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ९४ करोडमा सीमित संचालन मुनाफालाई बढाएर २ अर्ब २२ करोडको उचाई चुमाएको छ भने ३ अर्ब १६ करोडमा सीमित खूद ब्याज आम्दानी समेत बढेर ३ अर्ब ६० करोड रुपैयाँभन्दा माथि पुगेको छ । यसरी बैंकले संचालन मुनाफा र खूद ब्याज आम्दानीतर्फ क्रमशः  १४.३२ र १३.९० प्रतिशतको प्रगति गरेको छ । 

समीक्षा अवधिमा बैंकको रिटेन अर्निङ भने घटेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब २७ करोड रुपैयाँ रहेको यस्तो अर्नि ङ करिब ३५ प्रतिशतले घटेर ८२ करोड ८२ लाख रुपैयाँमा सीमित बन्न पुगेको हो । 

समीक्षा अवधिमा बैंकले १ खर्ब ४१ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ३१ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको समान अवधिको तुलनामा निक्षेप र कर्जातर्फ क्रमशः ७.१९ र १५.५० प्रतिशतको बढोत्तरी भएको देखिएको छ । 

नाफामा बढोत्तरी भएका कारण बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको समान अवधिसम्म रु.१९.०१ रहेको इपीएस केही बढेर यो वर्ष २०.१७ रुपैयाँ कायम भएको छ । 

बैंकको खराब कर्जाको अनुपात भने केही बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ०.५१ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात बढेर ०.८७ प्रतिशत पुगेको हो । 

समीक्षा अवधिमा बैंकको सीडी रेसियो ८९.१३ प्रतिशत, कस्ट अफ फण्ड ७.५६ प्रतिशत, आधार दर ९.६३ प्रतिशत, प्रतिसेयर नेटवर्थ रु. १३९.६७, पीई अनुपात १३.४४ गुणा कायम भएको छ ।