काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा आज वैशाख ७ गतेदेखि काठमाण्डौको गोकर्णेश्र नगरपालिका–८ जोरपाटी माकलबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राईले माकलबारी शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए। 

कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक प्राडा गीता प्रधान, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायत बैंक उच्च व्यवस्थापन समूह र स्थानीयवासीको उपस्थिति थियो। 

माकलबारी शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २७ पुगेको छ।

२०७८ चैत मसान्तसम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र  कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ। उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो। बैंक पहिलोपटक खुद मुनाफा रु. १ अर्ब कटाउन सफल भएको छ।    

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ  बैंकले देशका विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्टरहरु सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकको कुल शाखा संख्या १३० पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर २४ शाखारहित बैंकिङ र ११३ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।