-अनन्त्य सुन्दर
काठमाण्डौ । अहिले १० लाख रुपैयाँ लगानी गरे १० वर्षमा १० करोड बनाइदिने भन्दै गैरकानूनी धन्दा सञ्चालन गर्ने दीपेन्द्र अग्रवाल लगायतले 'गोल्डम्यान इन्भेष्टमेन्ट' नामक कम्पनीको संस्थापक सेयर गुपचुप बेचेर उन्मुक्ति पाउने बाटो रोजेका भेटिएको छ । 

गोल्डम्यान इन्भेष्टमेन्ट नामको पब्लिक लिमीटेड कम्पनीको अनावश्यक प्रचारप्रसार गरी लगानीकर्तालाई बेवकुफ बनाई अग्रवाल लगायतका संस्थापकहरु आफ्नो नामको सेयर अरुलाई भिडाएर उम्किने प्रयासमा लागेका हुन् । 

वि.सं. २०७१ मा सातजना संस्थापकको नाममा गोल्डम्यान इन्भेष्टमेन्ट  नामक पब्लिक लिमिटेड कम्पनी कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरिएको थियो । सो कम्पनी रजिस्ट्रार कार्यालयमा दिपेन्द्रअग्रवाल, जय प्रकाश अग्रवाल, कुसुम देवी अग्रवाल, सबिता अग्रवाल, नरेन्द्र कुमार अग्रवाल, ज्योति अग्रवाल र रेशु अग्रवालको नाममा दर्ता भएको थियो।

पाँच करोड चुक्तापुँजी भएको गोल्डम्यानमा सेयर बजारका खेलाडी दिपेन्द्र अग्रवालको ५० हजार कित्ता अर्थात् ५० लाख र बाँकी सेयरधनीको भने ७५ हजार कित्ता अर्थात् ७५ लाख रुपैयाँ बराबरको सुरुवाती लगानी रहेको थियो। 

नेपाली सेयर बजारको बुलिस यात्रा सुरु भएसँगै गोल्डम्यानको संस्थापक सेयर धनीहरूको दिन भने एकाएक फेरिएको देखिन्छ। बिजशालालाई प्राप्त जानकारी अनुसार बजार बढ्न सुरु भएसँगै गोल्डम्यानका संस्थापक सेयरधनीहरूले विभिन्न स्किमको प्रलोभन देखाउँदै आफूहरूसँग भएको सेयर अन्य लगानीकर्ताहरूलाई बेच्न सफल भएका छन् । 

कम्पनीको उद्घाटन
बजारमा खुलेआम भित्री तथा सर्कुलर कारोबार गर्ने नामुद खेलाडी दिपेन्द्र अग्रवालको नेतृत्वमा स्थापना भएको गोल्डम्यान इन्भेस्टमेन्ट कम्पनी २०७८ पुस १० गते जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव र सेयर बजारका बादशाह निर्मल प्रधानको उपस्थितिमा औपचारिक रूपमा उद्घाटन भएको थियो। सो कार्यक्रममा लगानीकर्ता, पत्रकार एवम् अन्य सरोकारवालाहरूको पनि उपस्थिति थियो। 

प्रभावशाली नेता तथा व्यक्तिहरुलाई सहभागी गराएर कम्पनी उद्घाटनसँगै यसले विभिन्न प्रचारबाजी गर्दै सर्वसाधारणलाई फसाउने काम गरेको देखिन्छ । हाल संस्थापक सेयर बिक्री गरेर अरुलाई फसाएका दीपेन्द्र अग्रवाल कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा भने कायमै छन् । 

लगानीकर्तालाई फसाउने कम्पनीको स्किम
कम्पनी स्थापना र उद्घाटनपछि पनि अग्रवालले लगानीकर्ताहरूलाई फेसबुक, युट्युब, भाइबरलगायत विभिन्न सामाजिक सञ्जालमा संस्थापक सेयरधनी बन्नका लागि आह्वान गरेका थिए। उनले उद्घाटन समारोहको पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव साथै सेयर बजारका बादशाह निर्मल प्रधानको भिडियोलाई प्रयोग गरी विभिन्न सामाजिक सञ्जालमा कम्पनीको सेयरधनी बन्नका लागि आह्वान गरेका थिए। तर उनले कम्पनीमा थप पुँजीका लागि नभएर आफूसँग भएको संस्थापक सेयर बेच्नको लागि लगानीकर्ताहरूलाई लगानीका लागि त्यस्तो आह्वान गरेका भेटिएको छ । 

कम्पनीको उद्घाटन कार्यक्रममा उपेन्द्र यादवले केक काटी गोल्डम्यानले मुलुकको अर्थतन्त्र बलियो बनाउन, रोजगारी सृजना गर्नका साथै लगानी क्षेत्रमा गोल्डम्यानले नेतृत्वदायी भूमिका लियोस् भनेर शुभकामना व्यक्त गरेका थिए। 

त्यस्तै निर्मल प्रधानले कम्पनीमा आफूले पनि लगानी गर्ने मनसाय बनाएको साथै जोइन्ट भेन्चरमा आफूले पनि लगानी गर्ने बताएका थिए। उनको यो अभिव्यक्तिका कारण पनि अग्रवाललाई अन्य सोझा लगानीकर्ता फसाउन सहज भएको देखिन्छ । 

सो कार्यक्रममा प्रेजेन्टेसन दिंदै गोल्डम्यानका सीइओ तथा मुख्य योजनाकार दिपेन्द्र अग्रवालले कम्पनी स्थापना भएको ५ वर्षमा ५० वटा विभिन्न क्षेत्रका कम्पनीहरूमा लगानी गर्ने बताएका थिए। सामाजिक सञ्जालमा कम्पनीमा अहिले गरिएको १० लाख रुपैयाँको लगानी अबको १० वर्षमा १० करोड रुपैयाँ हाराहारी हुने उनले दाबी पनि गरेका छन्। 

अहिले कम्पनीले मेगा माइनिङ र स्मार्ट डुवर्स नेपाल सञ्चालन गरेको र पुँजी कम भएकाले अन्य प्रोजेक्टहरू भने पाइपलाईनमा भएको उनले बताएका थिए। तर, ती दुवै प्रोजेक्ट नै अस्तित्वमा नरहेको समेत आशंका उब्जिएको छ । 

गोल्डम्यानको आकर्षक स्किम, बजारका बादशाह भनिएका निर्मल प्रधान लगायत बजारका अन्य लगानीकर्ताहरूले पनि लगानी गर्ने भनिएसँगै विश्वास गरेर सो कम्पनीमा लगानी गरेको बिजशालासँग सम्पर्कमा आएका गोल्डम्यानका एक लगानीकर्ताले बताए।

बोर्ड र सिआइबीको छानबिन
गोल्डम्यानले धेरै लगानीकर्ताहरुलाई फसाएपछि र गलत ढंगले प्रचारप्रसार गर्न थालेपछि त्यसले सेयर बजारलाई प्रभावित हुने काम भएको भन्दै सर्वत्र आलोचना भएको थियो । साथै कम्पनी ऐन, धितोपत्र ऐन विपरीत काम गरेको भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अध्ययन अघि बढाएको थियो। 

बोर्डले थप छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पत्राचार गरेपछि प्रहरीले समेत अनुसन्धान अगाडि बढाइसकेको छ । 

त्यसका साथै राष्ट्र बैङ्कले सबै बैंक तथा वित्तीय संस्थाहरूलाई पत्राचार गर्दै गोल्डम्यान इन्भेस्टमेन्टको नाममा रहेको बैंक खाता रोक्का राख्न निर्देशन समेत दिइसकेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता श्यामकुमार महतले सिआइबीले अध्ययन, अनुसन्धान साथै डकुमेन्ट सङ्कलनको काम भइरहेको बताए। 'अनुसन्धानका लागि सिआइबीले केही मानिसहरूलाई सोधपुछ पनि गरेको छ। पीडितहरूले सम्पर्कमा आई सहकार्य गर्दा अनुसन्धान प्रक्रिया छिटो अघि बढ्नुका साथै थप सहज हुन्थ्यो, यसका लागि हामी पीडितहरुलाई अपील समेत गर्छौ ।'- उनले भने । 

अहिले गोल्डम्यानको सेयर कोसँग छ?
बिजशालालाई प्राप्त जानकारीअनुसार दिपेन्द्र अग्रवालसहित अन्य ६ जनाले कम्पनीको संस्थापक सेयर अन्य ३२ जना फरक फरक व्यक्तिलाई बिक्री गरिसकेका छन्। साल २०७८ चैत्र १९ मा सेयर बिक्री गरिएको भन्दै कम्पनीले कम्पनी रजिस्ट्रार कार्यालयमा चैत्र २१ गते अभिलेख पठाएको छ। कम्पनी रजिस्ट्रार कार्यालयले भने प्रमाणीकरण गरिसकेको छैन।

कम्पनीले ३० हजार कित्ता मुन्चनप्रसाद शर्मा, २० हजार कित्ता राम कशुल्ला, १९ हजार कित्ता माधव भण्डारी र बाँकी सेयर १० हजार कित्ताको दरले अन्य लगानीकर्तालाई बेचेको देखिएको छ । अर्थात् दिपेन्द्र अग्रवाल साथै अन्य संस्थापक सेयरधनीको नाममा अहिले एक कित्ता पनि सेयर छैन।

कम्पनीको गैरकानूनी धन्दाको पर्दाफास भएसँगै हतार हतार आफ्नो नामको सेयर अरुलाई बेचेर संस्थापक अग्रवाल लगायतका सेयरधनीहरु उम्किने प्रयासमा रहेका यसबाट समेत देखिने स्रोत बताउँछ ।

बिजशालासँग सम्पर्कमा आएका गोल्डम्यानका लगानीकर्ताले दिपेन्द्र अग्रवाल बजारका कहलिएका खेलाडी साथै गोल्डम्यानले १० वर्षमा १० लाख १० करोड हुने भनिएकाले १० हजार कित्ता सेयर खरिद गरेको बताए। उनले दिपेन्द्र अग्रवाल साथै अन्य संस्थापकहरू कम्पनीबाट बाहिरिँदै गरेको भने जानकारी नभएको बताए।

गोल्डम्यानको सेयर खरिद गरेका लगानीकर्ताहरूले नोटरी पब्लिकमा लिखित र साक्षीसहित सेयर खरिद गरिसकेका छन्। त्यसका साथै गोल्डम्यानको अनुसन्धान गरिरहेको सिआईबी साथै बोर्डबाट सेयर बिक्री साथै ट्रान्सफर रोक्काका लागि कुनै पनि पत्राचार नआएकाले गोल्डम्यानले कम्पनी रजिस्ट्रारमा सेयर ट्रान्सफर, बिक्री जस्तो कुनै पनि कार्य अघि बढाएर उन्मुक्ति पाउने बाटो खुल्ला छ।

स्रोतकाअनुसार गोल्डम्यानका सिइओ अग्रवाल उपेन्द्र यादवको पार्टीको केन्द्रीय सदस्य समेत हुन् । उनले त्यही पहुँचको दुरुपयोग गरेका भेटिएको छ । राजनीतिक पहुँचकै कारण उनीमाथि कडा कारबाही हुने सम्भावना पनि कम रहेको पीडितहरु बताउँछन् । गोल्डम्यानको सेयरमा फसेका एक लगानीकर्ता भन्छन्-'सिआईबीको टेबलमा गोल्डम्यानको गैरकानूनी धन्दासँग सम्बन्धित सबै फाईल छन्। तर पनि सिआईबीले गोल्डम्यानको सेयरधनीलाई उन्मुक्ति दिने बाटो खालि नै राखेको छ। त्यसैले भोलिको दिनमा गोल्डम्यान साथै आबद्ध व्यक्तिहरू कारवाहीको घेरामा नपर्दा आश्चर्य मान्नु पर्दैन।'

कहाँ गए दीपेन्द्र अग्रवाल ?
यो कम्पनीको मास्टरमाइण्ड तथा सेयर बजारका खेलाडी दीपेन्द्र अग्रवाल हाल सामाजिक सञ्जालमा छैनन् । उनी नेपालमा समेत छैनन्। 

सामाजिक सञ्जालमा कारोबार अवधिमा पनि कम्पनीको नाम नै तोकेर सेयर किन्नु र बेच्नु भन्ने दिपेन्द्र अग्रवाल अहिले शान्त छन्। दैनिक ४–५ वटा पोस्ट गर्ने अग्रवाल बोर्ड साथै सिआइबीले अनुसन्धान अघि बढाएसँगै एकाएक शान्त देखिएका छन् । बिजशाला संवाददाताले सम्पर्क गर्न खोज्दा अग्रवालको फोन स्विच अफ रहेको छ। 

अग्रवाल निकटबाट प्राप्त जानकारीका अनुसार दिपेन्द्र अग्रवाल अहिले नेपालमा छैनन्। उनी अहिले भारतको संघीय राजधानी नयाँ दिल्लीमा छन्। उपचारको बाहानामा उनी दिल्ली पुगेका हुन् । सम्भावित कारबाहीलाई छल्न उनले उपचारको बाहाना गरी दिल्लीसम्मको यात्रा तय गरेका हुनसक्ने स्रोतहरु बताउँछन् ।