काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक पुनरुत्थान तीव्र गतिमा हुन खोज्दा शोधानान्तर घाटा बढ्दै गएर विदेशी विनिमय सञ्चितीमा चाप परेको बताएका छन् । उनले यो अवस्था अझै केही समय कायम रहने विश्लेषण पनि गरेका छन् । 

राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आर्थिक पुनरुत्थान हुने क्रममा कर्जा प्रवाह र आयात बढ्न गई शोधनान्तर घाटा बढ्दै जाँदा विदेशी विनिमय सञ्चितिमा चाप परेको बताएका हुन् । 

'यसैलाई दृष्टिगत गरी बाह्य क्षेत्र स्थायित्वको लागि नेपाल राष्ट्र बैंकले अवलम्बन गरेका नीतिगत प्रयासले विदेशी विनिमय सञ्चिति पर्याप्तता सूचक पछिल्ला महिनामा स्थिर रहेको छ ।' उनले भने-'बाह्य क्षेत्रको अवस्था हेरी यसको स्थायित्वको लागि आगामी दिनमा थप उपाय अवलम्बन गर्न नेपाल राष्ट्र बैंक प्रतिबद्ध छ ।' 

उनले कोभिड संक्रमणको थप लहरको सम्भावना रहे पनि आर्थिक गतिविधि पुनरुत्थानमा ठूलो अवरोध नहुने दाबी पनि गरेका छन् । 

गभर्नर अधिकारीले कोभिड–१९ को संक्रमण अझै केही मात्रामा कायमै रहेको र संक्रमणको थप लहरको सम्भावना पनि रहेको उल्लेख गर्दै तथापि अधिकांश मानिसले कोभिड–१९ विरूद्धको खोप लगाइसकेको हुँदा आर्थिक गतिविधि पुनरूत्थानको क्रममा नै रहने बताए । 

उनले विगत एक वर्षमा राष्ट्र बैंकमा भएको काम उल्लेख गर्दै कोभिड सङ्क्रमण पश्चात् खोपको उपलब्धता साथै कोभिडको असर कम भएसँगै विदेशी पर्यटकको आगमन, वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्नुका साथै पुनर् कर्जा व्यवस्थालाई निरन्तरता पाएको बताए।

'प्रदान गरिएको कर्जा आयातमा जानुका साथै बढ्दो सोधान्तर घाटा र विदेशी विनिमय संचिति घाटाले बाहिरी क्षेत्रलाई असर गरेको छ' गभर्नर अधिकारी भन्छन्-'राष्ट्र बैंकबाट विभिन्न नीतिगत कार्य भई त्यसलाई सम्बोधन गर्ने काम भई रहेको छ।'

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, रुस युक्रेन युद्धले गर्दा मुद्रा स्फिति चाप केही समय हुने देखिने गभर्नर अधिकारीले बताए। ,

निक्षेप भन्दा कर्जा बढी प्रवाह भएसँगै तरलता चाप उच्च भएको देखिन्छ। तरलता चापलाई सम्बोधन गर्न राष्ट्र बैंकले विभिन्न उपकरणहरू प्रयोग गरिएको छ। तरलता अभावले गर्दा अल्पकालीन र दीर्घकालीन ब्याजदर बढेको छ, उनले भने।

डिजिटल करेन्सी तर्फ जान, विप्रेषण सर्वेक्षण, वित्तीय साक्षरता, बैंकको सङ्ख्या लगायतको विषयहरूमा राष्ट्र बैंकले अध्ययन अघि बढाएको गभर्नर अधिकारीले बताए।