काठमाण्डौ । नेपाल सरकार र सर्वसाधारण समेतलाई विद्युतीय कारोबार गर्न थप प्रोप्साहन र प्रवर्द्धन गर्न नेपाल राष्ट्र बैंकले हालै आरटीजीएसको समयसीमा थप गरेको छ। सोहीअनुसार नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)द्वारा सञ्चालित विद्युतीय चेक क्लियरिङ प्रणाली (एनसीएचएल–ईसीसी) र अन्तरबैंक भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस)का कारोबार र समयसीमासमेत परिवर्तन गरिएको छ।

यसका साथै शनिबार र आइतबार हुने सार्वजनिक बिदालाई समेत मध्यनजर गरी उक्त प्रणालीहरु शुक्रबारसमेत पूर्ण रुपमा सञ्चालनमा रहने गरी विद्यमान सत्रहरुको समय संशोधन तथा थप नयाँ सत्रहरुको व्यवस्था गरी यही जेठ ३ मंगलबारको दिनदेखि लागू हुने गरी प्रणालीहरुको समयसीमा परिवर्तन गरिएको छ। 

उक्त व्यवस्थाअनुसार एनसीएचएल–ईसीसी प्रणालीको रेगुलर सत्रमा दिउँसो ३ बजेसम्म र एक्सप्रेससत्रमा दिउँसो ४ बजेसम्म पेस हुन आएमा चेकहरु सोही दिनमा नै राफसाफ भई अन्तिम सेटलमेन्ट ५ः१५ पछि हुने व्यवस्था गरिएको छ। हरेक २–२ घन्टाभित्र चेकको राफसाफ गर्न मिल्ने एक्सप्रेस क्लियरिङ दिउँसो ४ बजेसम्म चेक पेस गर्न मिल्ने गरी जम्मा ४ वटा एक्सप्रेस क्लियरिङ सत्रहरु सञ्चालनमा रहने व्यवस्था गरिएको छ। 

त्यस्तै रु. २०–३० करोडसम्मको चेक राफसाफका लागि हाई भ्यालु चेक क्लियरिङको सत्र पनि थप गरी दिउँसो ३ बजेसम्म चेक पेस गर्न मिल्ने व्यवस्था गरिएको छ। 

त्यसैगरी एनसीएचएल–आईपीएस प्रणालीमा साँझको ५ बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा नै राफसाफ हुने व्यवस्था गरिएको छ। यसका साथै बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्राप्त भुक्तानी आदेशहरु हरेक २—२ घन्टामा नै राफसाफ हुने गरी छोटो अवधिका सत्रहरु प्नि थप गरिएका छन्। 

हरेक कार्यदिनको ५ः३० बजेसम्म प्राप्त भएका बैंकको आफ्नो ट्रेजरी फन्डिङसम्बन्धी भुक्तानी आदेशहरुसमेत सोही दिनमा फर्छ्यौट हुने व्यवस्था गरिएको छ। तोकिएको समयसीमापश्चात प्रणालीमा पेस हुन आएका कारोबारहरु अर्को कार्य दिनमा राफसाफ हुने व्यवस्था यथावत् रहनेछ भने जाडो महिनामा (कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म) आरटीजीएसको समयसीमासँग मिल्ने गरी एनसीएचएल–आईपीएस प्रणालीको समयसीमा एक घन्टाका लागि कम हुने व्यवस्था गरिएको छ। 

त्यसैगरी रिटेल पेमेन्ट स्विच (आरपीएस÷कनेक्टआईपीएस) मार्फत हुने रियल टाइम भुक्तानीलाई थप टेवा पुर्याउन बैंकहरुबीच हुने सेटलमेन्टलाई हरेक १ घन्टामा साँझको ६ बजेसम्म (दिनमा १० पटकसम्म) गर्ने व्यवस्था गरिएको छ। ग्राहकको खातामा भने उक्त कारोबार रियल टाइममै हुने व्यवस्था यथावत नै रहनेछ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकको विद्युतिय कारोबार बृद्धि गर्न लिएको नीति कार्यान्वयनमा उक्त कारोबार समयसीमा परिमार्जनले थप सहयोग पुग्ने, बैंक तथा वित्तीय संस्थाका ग्राहकले विद्युतीय भुक्तानी गर्न अझ सहज भई विद्युतीय कारोबारको कार्यान्वयन अझै प्रभावकारी हुने अपेक्षा गरिएको छ।