काठमाण्डौ । विगत दुई दिनदेखि मेगा बैंकको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । यो दुई दिनको अवधिमा मेगा बैंकको सेयरमूल्य पनि बढेको छ ।

बुधबार दोश्रो बजारमा प्रतिकित्ता २२५ रुपैयाँ रहेको मेगा बैंकको सेयरमूल्य बिहीबार एकैपटक बढेर २४७ रुपैयाँको उचाईमा पुग्यो । शुक्रबार पनि केही बढेर प्रतिकित्ता २५० रुपैयाँ पुगेको छ । 

निरन्तर घट्दो बजारमा एकाएक मेगा बैंकको सेयरमा लगानीकर्ताको आकर्षण देखिनु पछाडिको मुख्य कारण यो बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाँदैछ भन्ने सूचनाले काम गरेको देखिन्छ । अधिकांश ब्रोकरहाउस तथा लगानीकर्ताको समूहमा ‘नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकलाई प्राप्ति गर्दैछ’ भन्ने हल्ला व्यापक रुपमा फैलिएको छ । यही हल्लाका कारण लगानीकर्ताले धमाधम मेगा बैंकको सेयर उठाइरहेका हुन् । 

बजारमा फैलिएको हल्लाजस्तो के मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको सम्झौता हुनै लागेको हो ? वा, हल्लै हल्लाको भरमा मूल्य बढाइएको हो ? हामीले यो हल्ला पछाडिको वास्तविकता पत्ता लगाउने कोशिश गरेका छौं । 

नेपाल इन्भेष्टमेन्ट बैंकस्थित एक उच्च स्रोतले मेगा बैंकलाई अक्वायर गर्ने गरी सम्झौता हुनसक्ने सम्भावनालाई अस्वीकार गरेन । ‘हामीले मेगा बैंकसँग सम्भावित मर्जरका लागि छलफल अगाडि बढाएका हौं, यही सूचना बजारमा चुहिएर मूल्यमा चलखेल भएको हुनसक्छ ।’ ती अधिकारीले भने–‘तर हाम्रो छलफल प्रारम्भिक मात्र हो । मेगासँग हाम्रो बैंकको मर्जर सम्झौता हुने अवस्थासम्म जारी छलफल पुगेकै छैन ।’ 

नेपाल इन्भेष्टमेन्ट बैंकले सबै कुरा मिलेमा मेगालाई आफूमा मर्ज गराउन भनेको चाहेको देखिएको छ । ‘हामीसँग मर्जर गर्न आउँदा सबै १: १ को सेयर स्वाप रेसियोको कुरा गरेर आउँछन्, सबैलाई यो अनुपात त दिन सकिन्न ।’ ती अधिकारीले भने–‘सेयर स्वाप लगायत केही जटिल विषयमा सहमति भयो भने मेगालाई हामीले लिने विषयका टुङ्गो अर्को साताभित्रै लाग्नेछ ।’ 

ती अधिकारीले अर्को साताभित्र मेगासँगको जारी छलफलले सुखद मोड लिनसक्ने सम्भावना समेत व्यक्त गरे । ‘अर्को सातासम्म पर्खिदिनुस्, सुखद  खबर पनि आउनसक्छ ।’ ती अधिकारीले भने–‘तर अहिले नै कुरा मिल्नैलागेजस्तो गरी मूल्यमा चलखेल गर्नेहरुलाई हाम्रो भन्नू केही छैन ।’ 

मेगा बैंकका एक सञ्चालकले पनि इन्भेष्टमेन्ट बैंकको अनुरोधमा सम्भावित मर्जरको छलफलमा आफूहरु बसेको पुष्टि गरे । ‘राष्ट्रबैंकको कारबाहीबाट बच्न उहाँ(इन्भेष्टमेन्ट)हरुलाई पनि चाँडै कुनै न कुनै बैंकसँग मर्जर सम्झौता गर्नुपर्नेछ । उहाँहरुले हामीलाई प्रस्ताव राखेपछि हामी बसेका हौं ।’ ती सञ्चालकले भने–‘कुरा प्रारम्भिक रुपमा सकारात्मक ढंगले नै अगाडि बढेको छ । सबै कुरा भनेजस्तो भयो भने चाँडै मर्जरको सम्झौता पनि हुनसक्छ ।’ 

मेगा प्रभूसँग पनि छलफलमा ! 
मर्जरका लागि प्रारम्भिक तहको छलफलमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक मेगा बैंकले अन्य एक बैंकसँग पनि मर्जरका लागि छलफल गरिरहेको विषयमा सशङ्कित बनेको पाइएको छ । मेगा बैंकले प्रभू बैंकसँग पनि मर्जरको छलफललाई निकै अगाडि बढाइसकेको स्रोत बताउँछ । यो विषयमा इन्भेष्टमेन्ट बैंकका अधिकारीहरु मेगासँग आश्वस्त हुन चाहेका छन् । 

प्रभू र मेगा बैंकबीच १ बराबर १ को सेयर स्वाप अनुपातमा मर्जर गर्ने सहमति बन्नै लागेको कुरा आएको एक अधिकारी दाबी गर्छन् । ‘प्रभू र मेगाबीच मर्जर गर्ने, मर्जरपछिको बैंकको सीइओमा अशोक शेरचन रहने र सञ्चालक समितिको अध्यक्षमा भने मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह नै रहने गरी कुरा अगाडि बढिसकेको छ भन्ने पनि सुनिएको छ ।’ इन्भेष्टमेन्ट बैंकका एक सञ्चालकले बिजशालासँग भने–‘प्रभू बैंकसँग कुरा मिल्नै लागेको अवस्थामा मेगा हामीसँग किन छलफलमा आयो भन्ने विषय पनि बुझ्नुपर्ला । तर, प्रभूसँग पनि निर्णय नभइसकेकोले हामीसँग बढी सहजता फिल भयो भने मर्जरमा जाने सम्झौता हुन पनि सक्ने देखिन्छ ।’

मेगा बैंकका एक सञ्चालकले प्रभूसँगको छलफल निकै अगाडि बढेको पुष्टि गर्दै इन्भेष्टमेन्ट बैंकसँग पनि छलफल सुरु भएको र आफू अगाडि आएका विकल्पमध्ये राम्रो विकल्पमा जाने रणनीति रहेको प्रष्ट पारेका छन् । ‘हाम्रा सेयरधनी, हाम्रा कर्मचारीलाई जता जाँदा लाभ हुन्छ, त्यतै जाने हो ।’ ती सञ्चालकले भने–‘छलफल जतिजनासँग पनि गर्दा हुन्छ । निर्णय लिँदा हित हुने ठाउँ हेरिन्छ ।’