काठमाण्डौ । पोखराबाट जोमसोमका लागि बिहान उडान भर्ने क्रममा हराइरहेको तारा एयरको विमान तथा यात्रुहरुको खोजी कार्यका लागि हेलिकोप्टरबाट लार्के क्षेत्रमा अवतरण भएको प्रहरी टोलीले त्यहाँ केही पनि फेला पारेन । 

प्रहरी नायव निरीक्षक रामबहादुर खत्री नेतृत्वको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा लार्के र त्यसभन्दा माथि न्याउरीकोट आसपासको क्षेत्रमा खोजीकार्य गरेको थियो । सो क्रममा स्थानीयले त्यहाँ विमानको आवाज मात्र सुनेको र थप केही पनि नदेखेको वा नसुनेको बताएका छन् । सो क्षेत्रबाट बिजशालाको सम्पर्कमा आएका सई खत्रीले आफूहरु अहिले न्याउरीकोटको पिक प्वाइन्टमा आइपुगेको उल्लेख गर्दै सो आसपास केही पनि नभेटिएको बताए । 

'हामी नर्थवेस्टतिर छौं, तर सूचना आएअनुसार विमानको अन्तिम सम्पर्क भएको लोकेसन नर्थ इस्टतिर भन्ने कुरा आयो ।' उनले थपे-'त्यो भनेको हाम्रो लेते प्रहरी कार्यालयले हेर्ने एरिया हो ।' 

लेते प्रहरी चौकीबाट विमान अन्तिम सम्पर्कमा आएको भनिएको स्थान ३ किलोमिटर टाढा हो । प्रहरी चौकीबाट बाइकमा जाँदा सो ठाउँ पुग्न पौने घण्टा लाग्ने खत्रीले जानकारी दिए । 

उनका अनुसार लेते प्रहरी चौकीबाट केही प्रहरीहरु बाइकमा सम्भावित स्थानतर्फ परिचालन भइसकेका छन् । 

प्रहरीको पछिल्लो अनुमानअनुसार विमान लार्जोङ र टिटी ताल बीचको क्षेत्रबाट हराएको हुनसक्छ । सो क्षेत्रमा पुगेपछि मात्र यथार्थ पत्ता लाग्ने प्रहरीको भनाई छ । 

सई खत्रीका अनुसार हाल सो क्षेत्रमा बाक्लो कुहिरो लागेको छ भने हल्का वर्षा पनि भइरहेको छ । 

तारा एयरको विमान बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेकोमा १५ मिनेटपछिबाट वेपत्ता भइरहेको छ । विमानमा चालक दलका ३ सदस्यसहित कुल २२ जना सवार छन् । सवार यात्रुमध्ये ६ विदेशी र १३ नेपाली रहेका छन् ।