काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले सरकारले आयात प्रतिस्थापन गर्ने मुख्य साधनका रुपमा उद्योग स्थापना र उत्पादनलाई उच्च प्राथमिकता दिने उद्देश्यअनुरुप सवारीसाधन एसेम्बल उद्योगलगायत इलेक्ट्रिक रिक्सा, मोटरसाइकल र स्कुटर उत्पादनमा लाग्ने पार्टपुर्जा वा कच्चा पदार्थमा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने नीति आगामी बजेटमार्फत ल्याएकोमा सरहानीय रहेको जनाएको छ। 

त्यसैगरी सरकारले १०० किलोवाट क्षमताका विद्युतिय सवारीसाधन, १५०० सीसीसम्मका कम्बसन इन्जिन भएका सवारीसाधनलगायत २०० सीसीसम्मका कम्बसन इन्जिन भएका मोटरसाइकललाई आवश्यकताको सवारीसाधनका रुपमा लिएकोमा नाडाले स्वागतयोग्य कदम भनेको छ। ‘नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणका लागि जुन बजेटको व्यवस्था गरेको छ, त्यसले नेपालमा चाँडै प्रदर्शनीहल निर्माण हुने अपेक्षा राख्न सकिन्छ’, नाडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

अर्कोतर्फ बजेटले १०० किलोवाट क्षमताभन्दा बढीका विद्युतीय सवारीसाधन तथा २०० सीसीभन्दा माथिका कम्बसन इन्जिन भएका मोटरसाइकलहरुमा जुन किसिमले अन्तःशुल्क तथा भन्सार महसुलमा वृद्धि गरिएकोेप्रति नाडाले ध्यानाकर्षण गराएको छ। ‘त्यसले उच्च किलोवाट क्षमता भएका विद्युतिय तथा कम्बसन इन्जिन भएका सवारीसाधन व्यवसायीहरुलाई आफ्नो व्यवसाय सञ्चालन गर्न कठिनमात्र हुने नभई आफ्नो व्यवसाय नै बन्द गर्नु र्ने अवस्था आउने देखिएकोले यसमा लाग्ने महसुलमा केही सुधारको आवश्यकता देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैगरी बजेटले सवारीसाधन खरिद गर्न चाहनेहरुले मात्र अनिवार्य रुपमा पीएएन कार्ड लिएको हुनुपर्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्था सवारीसाधन खरिद गर्न चाहनेहरुका लागि मात्र गरिनु न्यायोचित देखिँदैन ।’