काठमाण्डौ। झन्डै ३२०० को उच्च विन्दु पुगेको सेयर बजार लगभग ५० प्रतिशतको करेक्सन आइसकेको छ। 

गत भदौ ३ गते बजार ३१९८.६० विन्दुमा बन्द भएको थियो। यो बजारले चुमेको हालसम्मकै उच्च विन्दुमा हो। विभिन्न नियामक निकायको बजार प्रतिकूल नीतिका कारण झन्डै साढे ९ महिनाको अवधिमा बजार ११५० अंकभन्दा बढीले तल आइसकेको छ। 

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको सेयर धितो कर्जामा ४–१२ को क्याप, सीसीडी रेसियोलाई सीडी रेसियोमा रुपान्तरण, जोखिम भार अनुपातमा वृद्धिलगायतका विभिन्न व्यवस्थाले बजार प्रभावित बनिरहेकै अवस्थामा पछिल्लो समय बीमा समितिले बीमा कम्पनीहरु पुँजीवृद्धि गर्नुपर्ने निर्णयले थप प्रभावित भएको छ। 

बीमा समितिको यो निर्णयपछि हकप्रद र बोनस सेयरको आश गरेका लगानीकर्ताहरु बीमा कम्पनीहरुले मर्जरको बाटो रोज्न थालेपछि निराश बनेका छन्।  यहीका कारण लगानीकर्ताहरुले धमाधम सेयर बेच्न थालेपछि बीमा कम्पनीहरुको सेयरभाउमा पहिरो गइरहेको छ। 

त्यसो त बीमा कम्पनीहरुमात्रै होइन अहिले नेप्सेमा सूचीकृत अधिकांश कम्पनीका सेयरभाउ घटेको छ। 

बीमा समितिले गत चैत १० गते बीमा कम्पनीहरुको पुँजीवृद्धि गर्ने निर्णय गर्दै पुँजीवृद्धिको योजना पेस गर्न कम्पनीहरुलाई निर्देशन दिएको थियो। त्यसपछि बीमा कम्पनीहरुले समितिमा पुँजीवृद्धिको योजना पनि पेस गरेका थिए। 

बीमा समितिले निर्जीवन बीमा कम्पनी न्यूनतम चुक्तापुँजी साढे २ अर्ब र जीवन बीमा कम्पनीको ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको छ। यो चुक्तापुँजी १ वर्षभित्र पुर्याउनुपर्ने समितिले निर्देशन दिएको छ। 

बोनस र हकप्रदले मात्रै धेरै कम्पनीको न्यूनतम चुक्तापुँजी बीमा समितिले तोकेअनुसार पुग्दैन। सोही कारणले धेरैजसो कम्पनी मर्जरमा जान बाध्य भएका छन्। 

कुन बीमा कम्पनी सेयरभाउ कति घट्यो ?

यहाँ हामीले गत चैत १० गतेदेखि हिजो जेठ १८ गतेसम्मको तथ्यांकका आधारमा बीमा कम्पनीहरुको सेयरभाउको अवस्था तुलना गरेका छौँ। 

निर्जीवन बीमातर्फ

चुक्तापुँजी वृद्धि गर्नुपर्ने निर्णयले सबैभन्दा धेरै नेपाल इन्स्योरेन्सको सेयरमूल्य घटेको छ। गत चैत १० गते प्रतिकित्ता ८८२ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य अहिले ४३.३१ प्रतिशतले घटेर प्रतिकित्ता ५०० रुपैयाँमा झरेको छ। 

यो अवधिमा सेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आउनेमा प्रडेन्सियल इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ। गत चैत १० गते प्रतिकित्ता ६९७ रहेको यो कम्पनीको सेयरमूल्य ४३.०४ प्रतिशतले घट्दै प्रतिकित्ता ३९७ रुपैयाँमा सीमित भएको छ। 

सूचीको तेस्रो स्थानमा सगरमाथा इन्स्योरेन्स रहेको छ। गत चैत १० गते १४०५ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य अहिले ८३० रुपैयाँमा झरेको छ। 
यस अवधिमा लुम्बिनी जनरलको सेयरमूल्य ४०.७७ प्रतिशतले घट्दै प्रतिकित्ता ४४६ रुपैयाँमा सीमित भएको छ। 

यो अवधिमा प्रभु इन्स्योरेन्सको सेयरमूल्यमा ३९.९७ प्रतिशत, सिद्धार्थ इन्स्योरेन्समा ३८.७१ प्रतिशत, युनाइटेड इन्स्योरेन्समा ३७.२ प्रतिशत, आइएमई जनरलको ३६.१४ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३५.०७ प्रतिशत, शिखर इन्स्योरेन्सको ३३.१४ प्रतिशत, नेको इन्स्योरेन्सको ३०.४६ प्रतिशत, प्रिमियरको २८.६२ प्रतिशत, सानिमा जनरलको २७.५ प्रतिशत, अजोडको २६.८९ प्रतिशत, जनरल इन्स्योरेन्सको २६ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा १४.९५ प्रतिशतको गिरावट आएको छ। 

जीवन बीमातर्फ

यस अवधिमा जीवन बीमा कम्पनीहरुमध्ये सूर्या लाइफको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ। गत चैत १० गते प्रतिकित्ता ७६० रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य ४३२ रुपैयाँमा झरेको छ। कम्पनीको सेयरमूल्यमा आएको यो गिरावट ४३.१८ प्रतिशत हुन आउँछ। यसैगरी प्रतिकित्ता ६६० रुपैयाँ रहेको ज्योति लाइफको सेयरमूल्य ३८.७९ प्रतिशतले घट्दै प्रतिकित्ता ४०४ रुपैयाँ कायम भएको छ। 

यो अवधिमा एलआईसी नेपालको सेयरमूल्य पनि ३६.७४ प्रतिशतले घट्दै प्रतिकित्ता १३२९ रुपैयाँमा झरेको छ। 

यसैगरी एसियन लाइफको सेयरमूल्यमा ३६.६९ प्रतिशत, सानिमा लाइफको ३४.२९ प्रतिशत, रिलायन्स लाइफको ३१.५८ प्रतिशत, नेसनल लाइफको ३०.५५ प्रतिशत, नेपाल लाइफको २५.६७ प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य २५.१६ प्रतिशतले ओरालो लागेको छ।