काठमाण्डौ । बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारीसाधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बरप्लेट राख्न आग्रह गरिएको छ। 

यातायात व्यवस्था विभागले आज एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो। इम्बोस्ड नम्बरप्लेट नराखे आउँदो साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ।

सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान अनिवार्य गर्न २०७८ कात्तिक २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको छ। मोटरसाइकललगायत सानाठूला सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान गर्न पनि सवारीधनीलाई विभागले आग्रह गरेको छ।

बागमती प्रदेशको ललितपुरस्थित एकान्तकुना र काठमाण्डौस्थित जुर्जुधारा तथा गण्डकी प्रदेशको कास्कीस्थित पोखरामा रहेका यातायात व्यवस्था कार्यालयमा इम्बोस्ड नम्बर जडानसम्बन्धी विभागको निर्देशन र संघीय कानुन कार्यान्वयनमा नआएकोमा पनि विभागले ध्यानाकर्षण भएको जनाएको छ।