काठमाण्डौ । पेट्रोल र डिजेल कारभन्दा विद्युतीय तथा हाइब्रिड कार चलाउनेहरुले कम तनाव महसुस गर्ने गरेको तथ्य सार्वजनिक भएको छ। 

बेलायतको कार कम्पनी डीएस अटोमोबाइल्सले गरेको अनुसन्धानबाट यस्तो तथ्य सार्वजनिक भएको हो। बेलायतमा दुई हजार कारधनीहरुमा गरिएको सर्भेमा करिब ७८ प्रतिशतले कार चलाउँदा तनाव महसुस गर्ने गरेको बताएका थिए। यस्तै ३८ प्रतिशत विद्युतीय तथा हाइब्रिड कारधनीले पेट्रोल र डिजेल कारको तुलानामा कम तनाव महसुस गर्ने गरेको बताएका छन्। 

तनाव महसुस गरेका ३१ प्रतिशत कार मालिकले नकारात्मकता प्रभावका कारण आफूहरुको ड्राइभिङ क्षमता प्रभावित भएको र तनाव अवस्थामा भएका चालकहरुले हतारमा निर्णयहरु लिने र सम्भावित खतराहरुमा कम ध्यान दिने गरेको बताएका छन्। यसले आरामदायी वातावरणमा ड्राइभिङ गर्नुको महत्व दर्शाएको छ। 

यस्तै २० प्रतिशत चालकले नयाँ कार खरिद गर्दा तनाव कम गर्ने डिजाइनका कारहरु हेर्ने गरेको बताएका छन्। 

तनाव कम गर्ने तत्वहरुका बारेमा प्रश्न गर्दा करिब ४१ प्रतिशत सहभागीहरुले शान्त र परिष्कृत ड्राइभले तनाव कम गर्ने गरेको बताएका छन्। 

डीएस अटोमोबाइल्स युकेका म्यानेजिङ डाइरेक्टर ज्युल्स टिल्टोन भन्छन्, ‘ड्राइभिङ जति रमाइलो हुन्छ कहिलेकाहीँ त्यति नै तनावपूर्ण पनि हुन्छ। तर, अन्य कारको तुलनामा विद्युतीय कार चलाउनुको धेरै फाइदाहरुमध्ये एउटा फाइदा के हो भने यसले चालकहरुलाई ह्विलपछाडि आराम महसुस गराउन सहयोग गर्छ।’ –एजेन्सी