काठमाण्डौ । धितोपत्र बोर्डको पत्रकार सम्मेलनबाट रुष्ट लगानीकर्ताले खुमलटारस्थित कार्यालयको मुख्य गेटमा धर्ना दिएपछि कार्यालयभित्रै थुनिएका बोर्ड अध्यक्ष र अफिसर लेभलका कर्मचारीलाई प्रहरी पहरामा बाहिर निकालिएको छ । 

प्रहरीले पहरा दिएर सबै हाकिमहरुलाई घर पठाउने व्यवस्था गरेको हो । 

आफ्नै गाडी हुनेलाई उनीहरुकै गाडीमा र नहुनेलाई प्रहरीले आफ्नै गाडीमा राखेर कार्यालयबाट बाहिर निकालेको थियो । 

सेबोनका भित्रै थुनिएका हाकिमहरु गन्तव्यतर्फ हिँडे पनि सेयर लगानीकर्ताहरुको प्रदर्शन भने जारी रहेको छ । 

निरन्तरको वर्षाको समेत परवाह नगरी लगानीकर्ताहरु धितोपत्र बोर्डको मुख्य गेट र आसपासको क्षेत्रमा बसेर नाराबाजी गरिरहेका छन् । 
प्रदर्शनस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । 

धितोपत्र बोर्डले आज साँझ ५ बजे पत्रकार सम्मेलन गरी लगानीकर्ताहरुलाई उनीहरुले उठाएका मागमध्ये अधिकांश कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै आन्दोलन स्थगित गर्न आग्रह गरेको थियो । बोर्डले पत्रकार सम्मेलन गरी आफूहरुको माग सम्बोधन गर्ने आशामा रहेका लगानीकर्ता भने थप चिढिएका छन् । 

उनीहरुले धितोपत्र बोर्ड, राष्ट्रबैंक र अर्थमन्त्रालयविरुद्ध नाराबाजीलाई जारी राखेका छन् । 

विगत ७ दिनदेखि लगानीकर्ता तिलक कोइराला विभिन्न १९ बुँदे माग राखी आमरण अनसन बसिरहेका छन् । उनलाई अन्य लगानीकर्ताले पनि साथ दिइरहेका छन् । 

उनको अवस्था नाजुक बनेपछि आजै पाटन अस्पतालमा आकस्मिक उपचारका लागि भर्ना गरिएको थियो । उपचारपछि पुनः कोइराला खुमलटारस्थित अनसनस्थलमै आएर आमरण अनसनलाई निरन्तरता दिइरहेका छन् । 

लगानीकर्ताहरुले आजको प्रदर्शनलाई निर्णायक भने पनि धितोपत्र बोर्डले अपेक्षित कदम नचाल्दा आन्दोलन थप लम्बिने अवस्था देखिएको छ ।