काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकास्थित प्रसिद्ध हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण गरेको छ। 

बैंकले शनिबार हलेसी तुवाचुङस्थित प्रसिद्ध हलेसी मन्दिरमा आयोजना गरेको विशेष कार्यक्रममा प्रमुख अतिथि हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उक्त मेसिन हस्तान्तरण गरेका हुन्। 

हाल प्रसिद्ध हलेसी मन्दिरमा दैनिक रुपमा सयौँ दर्शनार्थी आउने भए पनि मेसिनको अभावमा एक दिनका के–कति दर्शनार्थी दर्शन गरे भन्ने कुराको रेकर्ड मन्दिरसँग नभएकाले बैंकले उक्त कुरालाई मध्यनजर गर्दै भक्तजनको संख्या गन्ने मेसिन हस्तान्तरण गरेको हो।  बैंकले प्रदान गरेको मेसिनमा सीसीटीभी क्यामेरा जडान गरिएको हुनाले उक्त मेसिनले भक्तजनको संख्या गन्नुका साथै मन्दिरको सुरक्षामा समेत सघाउ पुर्याउने बैंकले विश्वास लिएको छ। 

आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रका रुपमा रहेको प्रसिद्ध हलेसी मन्दिरको संरक्षण र प्रवर्द्धनका लागि बैंकले मन्दिरलाई उक्त मेसिन हस्तान्तरण गरेको हो। 

माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ सेवाका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको थियो। त्यस्तै बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।