काठमाण्डौ । बैंकिङ प्रणालीमा तरलता संकट कायमै छ। मुद्रास्फीति पनि बढेको छ। 

बैंकहरुको निक्षेपको ब्याजदर डबल डिजिटमा रहेको छ। कर्जाको ब्याजदर पनि बढेकै छ। 

पछिल्लो समय नेपाल राष्ट्र बैंकले नियमित प्रक्रियाअन्तर्गत जारी गर्दै आएको ट्रेजरी बिल्सको ब्याजदर पनि ११.०६ प्रतिशत पुगेको छ। ट्रेजरी बिल्ससँगै बैंकहरुबीचको अन्तरबैंक कारोबारको ब्याजदर पनि ७ प्रतिशत पुगेको छ। 

ट्रेजरी बिल्सको ब्याजदर ११ प्रतिशत माथि पुगेपछि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ७ प्रतिशतमा स्थायी तरलता सुविधा (एसएलएफ) लिएर उक्त रकम ट्रेजरी बिल्समा लगानी गरिरहेको जानकारहरु बताउँछन्। 

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक ट्रेजरी बिल्स किन्न पाउँछन्। 

ट्रेजरी बिल्सको ब्याजदर बढ्नुले आगामी दिनमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर पनि बढ्ने स्पष्ट संकेत मिलेको जानकारहरु बताउँछन्।

राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री पनि सेयर बजारमा लगानी गर्नु र वाणिज्य बैंकहरुमा मुद्दति निक्षेपमा पैसा राख्नुभन्दा राष्ट्र बैंकले जारी गरेको ट्रेजरी बिल्समा लगानी गर्नु सुरक्षित हुने बताउँछन्। ‘ट्रेजरी बिल्सको ब्याजदर बढ्नुले बैंकहरुको ब्याजदर पनि बढ्छ’, उनले भने, ‘तर, बैंकहरुमा ११ प्रतिशतमा पैसा राख्नुभन्दा त राष्ट्र बैंककै ट्रेजरी बिल्समा पैसा लगाउनु सुरक्षित भयो नि।’

बिजशालासँगको कुराकानीमा पूर्वगभर्नर क्षेत्रीले बजारमा पैसा नभए पनि निक्षेपकर्ताहरुले अब बैंकहरुमा मुद्दतिका रुपमा राखेको पैसा झिकेर भए पनि ट्रेजरी बिल्समा लगानी गर्ने बताए। ‘किनकि यो त सरकारी ऋणपत्र हो नि, राष्ट्र बैंकले ग्यारेन्टी गरेको छ’, उनले भने, ‘त्यसैले अरु बैंकहरुको मुद्दति निक्षेपमा राखेको पैसा फिर्ता पाइन्छ कि पाइँदैन भन्ने ग्यारेन्टी छैन तर ट्रेजरी बिल्समा लगानी गरेको पैसा फिर्ता पाइन्छ भन्ने त ग्यारेन्टी छ नि।’

बजारमा तरलता संकट भए पनि ट्रेजरी बिल्समा लगानी नहोला भन्ने नहुने क्षेत्रीको भनाइ छ। ‘सरकारलाई पैसा चाहिएपछि ट्रेजरी बिल्स जारी गरिन्छ, अब बैंकहरुमा मुद्दति, चल्ती र बचतमा राखिएको पैसा निकालेर भए पनि ट्रेजरी बिल्स लगानी गर्छन्’, उनले भने।

ट्रेजरी बिल्सको ब्याजदर बढ्दा बैंकहरुको ब्याजदर पनि बढ्ने क्षेत्रीले बताए। ‘राष्ट्र बैंकले नै ब्याजदर बढ्छ बढ्छ भनेकै हो तर बैंकहरुले ब्याजदर नबढाइ बसेका थिए’, उनले भने, ‘अहिले ट्रेजरी बिल्सको ब्याजदर बढ्यो, अब निक्षेपकर्ताले बैंकबाट पैसा झिकेर भए पनि ट्रेजरी बिल्समा लगानी गर्छन्।’

ट्रेजरी बिल्सहरु १ वर्षभन्दा कम समयावधिको हुने र ६–६ महिनामा ब्याज पाइने भएकोले सर्वसाधारणको आकर्षण हुन सक्ने क्षेत्रीले बताए। ‘यो त सरकार र राष्ट्र बैंकले ग्यारेन्टी गरेको हुन्छ, नयाँ नोट निकालेर भए पनि पैसा दिन्छ भन्ने विश्वास छ’, उनले भने, ‘त्यसैले बैंकहरुमा राखेको पैसा झिकेर भए पनि यसमा लगानी गर्छन्।’

सुरक्षित प्रतिफलबारे सोचविचार गर्ने मान्छेले ट्रेजरी बिल्समा लगानी गर्ने क्षेत्रीको भनाइ छ। ‘होइन भने लहडका लागि सेयर बजारमा लगानी गर्छन्’, उनले भने, ‘त्यसैले सेयर बजारमा लगानी गर्नुभन्दा ट्रेजरी बिल्समा लगानी गर्नु सुरक्षित छ भन्ने मेरो कुरा हो।’